मन्त्री र सचिवहरू राम्रो काम नगरे जिम्मेवारी फेरबदल गर्ने प्रधानमन्त्री प्रचण्डको चेतावनी



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार सिंहदरबारमा उपप्रधानमन्त्री, मन्त्री सचिवहरू सहभागी कार्यक्रममा मन्त्री सचिवहरूको कामबाट आफू सन्तुष्ट नभएको बताएका छन् ।

उनले अब कार्यसम्पादन सम्झौताका आधारमा मन्त्रीहरुको रिपोर्ट कार्ड बन्ने र सम्झौता अनुसार काम नभए मन्त्री, सचिव, विभाग तथा आयोजना प्रमुखको जिम्मेवारी फेरबदल गर्ने चेतावनी समेत दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘अब विगतमा जस्तो यो वा त्यो बहानामा आफूलाई सुम्पिएको कार्यसम्पादन अनुरूपको कार्यमा ढिलाइ गर्ने छुट कसैलाई छैन । कार्य योजनामा उल्लेख भएअनुसार प्रगति हासिल गर्ने मन्त्री, सचिव, विभागीय तथा आयोजना प्रमुखलाई पुरस्कृत गर्ने र लक्ष्यअनुसार प्रगति हासिल नगर्नेलाई सोही अनुसार अभिलेख राखी जिम्मेवारी फेरबदल गर्नेतर्फ सरकारले आवश्यक कदम चाल्नेछ ।’

प्रधानमन्त्री प्रचण्डले २०७९ पुस १८ र १९ गते सबै मन्त्रालय तथा केन्द्रीय स्तरका कार्यालयका सचिव र कार्यालय प्रमुखहरूसँग छलफलका क्रममा सेवा प्रवाहलाई चुस्त बनाउने तथा विकास निर्माणको गतिलाई तीव्रता दिने निर्देशन दिएका थिए ।

उनले भने, ‘मबाट निर्देशन भएका विषय, गत आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि तयार गरिएको कार्य योजनाअनुरूप मन्त्रालय तथा निकायहरूबाट भएका कामहरूबाट आ–आफ्नो क्षेत्रमा सुधारका साङ्केतिक प्रतिविल्वहरू देखिएका छन् । तर , पनि यतिमा सन्तुष्ट हुने अवस्था भने छैन । गत आर्थिक वर्षको योजना र कार्य प्रणालीमा उत्साहजनक सुधार हुन नसकेको यथार्थ हामीसामु छ ।’

प्रधानमन्त्री प्रचण्डले सार्वजनिक सेवा छिटो छरितो, गुणस्तरीय र लागत किफायती हुने किसिमले हुने व्यवस्था मिलाउन पनि निर्देशन दिए । उनले भने, के हामीले हाम्रो प्रणाली सुधार गर्ने सामर्थ्य राख्न सक्दैनौँ रु के हामी यथास्थितिबाट माथि उठ्न सक्दैनौँ ।  कि हाम्रो नियतमा नै खोट हुनुपर्‍यो कि हामीसँग कार्यान्वयन गर्ने कार्यदक्षता को कमी छ भन्ने स्वीकार गर्नुपर्‍यो जबकि अवस्था यो कदापि होइन ।’

नेपालको कर्मचारीतन्त्रले तदर्थ वादी शैलीले काम गर्ने यो परिवर्तनको वेगलाई आत्मसात् गर्छ भन्ने पुष्टि गर्नुपर्ने आवश्यक रहेको प्रचण्डको भनाइ रहेको छ । उनले भने, ‘सरकारले केही गर्न सक्दैन भन्ने जननिराशा र ‘यस्तै हो, यस्तै चल्छ’ भन्ने मानसिकता र कार्यशैलीको बोझ बोकेर हामी हिँड्ने कि ‘परिवर्तन सम्भव छ, यही सरकार, यही कर्मचारीतन्त्र र यिनै संरचनाबाट परिवर्तन सम्भव छ भन्ने प्रमाणित गरेर देखाउने ?’

प्रतिक्रिया दिनुहोस्