रुसको वागनर समूहका प्रमुखसहित १० जनाको विमान दुर्घटनामा मृत्यु



काठमाडौँ । रुसको निजी सैन्य समूह वागनर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिन सहित १० जना सवार एक विमान दुर्घटना भएको छ । दुर्घटनास्थलमा कोही पनि जीवित फेला नपरेको अधिकारीहरुले बताएका छन् ।

रुसको फेडरल ट्रान्सपोर्ट एजेन्सीले सार्वजनिक गरेको विमान दुर्घटनामा मृत्यु हुनेहरूको सूचीमा येवगेनी प्रिगोजिन र सहसंस्थापक दमित्री अतकिनको नाम पनि उल्लेख छ ।प्रिगोजिनको विमान रुसको तेवेर सहरमा दुर्घटना भएको हो । यो विमान दुर्घटनाको कारण खुल्न सकेको छैन्।

दुर्घटनापछि विमानमा आगो लागेको थियो । वागनर भाडाका सैनिकहरूको समूह हो । यो समूहका लडाकुहरू पैसाका लागि लड्छन् । रुसले वागनरलाई युक्रेनविरुद्ध लड्न खटाएको छ ।

युक्रेन विरुद्धको लडाइँमा रुसी सेनाले आफूहरूलाई पर्याप्त हतियार नदिएको भन्दै वागनर समूह असन्तुष्ट थियो । यसअघि गत जुन महिनामा आफ्ना असन्तुष्टिका बिच वागनर समूह युक्रेनबाट फर्किएर रुसकै रोस्तोव सहर कब्जा गरेर बसेको थियो । आफ्ना कुराको सुनुवाइ नभए राजधानी मस्को कब्जा गर्ने धम्की दिएपछि रुसमा हलचल मच्चिएको थियो । तर पछि वागनर समूह पछि हटेको थियो ।

प्रतिक्रिया दिनुहोस्