बलात्कारको कसुरमा प्रहरी निगरानीमा रहेका अधिवक्ता केसीलाई थुनामा राख्न अनुमति



काठमाडौँ । बलात्कारको कसुरमा प्रहरी निगरानीमा रहेका अधिवक्ता भोज बहादुर केसीलाई थुनामै राख्न सर्वोच्च अदालतले अनुमति दिएको छ । शुक्रवार केसीको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएपछि केसीलाई थुनामा राख्ने बाटो खुलेको हो ।

बलात्कारको कसुरमा केसीमाथि प्रहरी वृत्त थानकोटले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो । त्यसपछि केसीलाई पक्राउ गर्न प्रहरी उनको घरमा पुगेपछि केसी बहोस् भई ढलेका थिए । प्रहरीले पक्राउ गर्न नपाउँदै केसी बेहोस भएपछि उनलाई उपचारका लागि मनमोहन मुटु रोग अस्पताल लगिएको थियो । तर, अस्पतालमै रहेको समयमा केसीले आफ्ना सहयोगी शरन मिजारमार्फत सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए ।

सर्वोच्चको आदेशपछि जिल्ला अदालत काठमाडौँ, जिल्ला प्रहरी परिसर, काठमाडौँ, प्रहरी वृत्त थानकोट र पीडित जाहेर वालिले पनि प्रतिउत्तर दिएका थिए । प्रहरी वृत्त थानकोटको प्रतिउत्तरमा केसीलाई पक्राउ गर्न गएको तर पक्राउ पुर्जी नदिँदै उनी बिरामी भएको भन्दै ढलेपछि उपचारका लागि पठाएको जवाफ दिएको थियो । प्रहरी परिसर काठमाडौँले पनि सोही ब्यहोराको जवाफ सर्वोच्चलाई पठाएको थियो ।

त्यसपछि १२  ।भदौमा पेसीमा न्यायाधीश द्वय सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले मिसिल कागज झिकाउने आदेश दिएको थियो । शुक्रवार प्रहरी वृत्त थानकोटबाट मिसिल कागजसमेत आएपछि न्यायाधीश द्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरिदिएको छ । रिट खारेज भएसँगै केसीलाई पक्राउ गरी अनुसन्धान गर्न बाटो खुलेको छ ।आफूलाई पक्राउ पुर्जी पनि नदिई नियन्त्रणमा राखिएको भन्दै केसीले रिट दायर गरेपछि तत्कालीन कामु प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले भदौ ३ गते कारण देखाऊ र बन्दीसहित उपस्थित हुने आदेश दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्