ललिता निवास प्रकरण : जवाफी बहस सकिए आजै थुनछेक आदेश आउने



काठमाडौँ । ललिता निवासको जग्गा हिनामिना प्रकरणको थुनछेक बहस अन्तिम तिर पुगेको छ ।काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार आज एक जना प्रतिवादीको बहस हुने र त्यसपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन्।

सरकारी वकिलको बहस आजै सकियो भने आजै थुनछेक आदेश आउने नभए भोलि  भोली थुनचेक  आदेश आउने दाहालले बताए । यसअघि शुक्रवार नै प्रहरी हिरासतमा रहेका १८ मध्ये १७ प्रतिवादीका तर्फबाट वकिलले बहस सकेका थिए ।

बाँकी तत्कालीन समरजङ्ग कम्पनीका कार्यालय प्रमुख लोकहरि घिमिरेका तर्फबाट बहस बाँकी थियो । आज घिमिरेका तर्फबाट वकिलले बहस गरेपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि थुनछेक आदेश आउनेछ । कसलाई थुनामा राख्ने, कसलाई धरौटीमा छाड्ने र कसलाई साधारण तारिखमा पठाउने भन्ने अदालतको निर्णय नै थुनछेक आदेश हो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासमा बहस चलिरहेको छ । सरकारी लिखत किर्ते अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयले उक्त मुद्दामा तीन सय १० जनाविरुद्ध अभियोजन दर्ता गरेको छ ।

विसं २०४९ देखि २०६९ सम्ममा नक्कली मोही खडा गरेर ललिता निवासको एक सय ४३ रोपनी जग्गा व्यक्तिका नाममा ल्याइएको थियो । उक्त प्रकरणमा पूर्व मन्त्री, पूर्व सचिव बहालवाला सचिव, पूर्व कर्मचारी, नक्कली मोही, व्यवसायीलगायत विरुद्ध मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्