भारतद्धार नेपाललाई २०३ रनको लक्ष्य



काठमाडौँ। १९औँ एसियाली खेलकुदको पुरुष  क्रिकेटमा भारतले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ । प्रतियोगिताको क्वार्टरफाइनल खेलमा भारतले नेपाललाई दुई सय तीन रनको लक्ष्य दिएको हो ।

टस जिती पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय दुई रन बनाएको थियो । भारतका लागि ओपनर ब्याट्सम्यान यशस्वी जैसवालले एक सय रन बनाए । जैसवाल र रुतुराज गाइकवाडले ओपनिङ विकेटका लागि एक सय तीन रनको साझेदारी गरेका थिए । गाइकवाड २५ रन बनाउँदै आउट भए ।

भारतका लागि शिवम दुबेले अविजित २५ रन र रिन्कु सिंहले अविजित ३७ रन बनाए । नेपाली बलर दीपेन्द्र सिंह ऐरीले दुई तथा सन्दीप लामिछाने र सोमपाल कामीले एक—एक विकेट लिए ।

भारतको पहिलो विकेट नेपाली बलर दीपेन्द्रसिंह ऐरीले लिएका थिए । उनले भारतका ओपनर ब्याट्सम्यान रुतुराज गाइकवाडको विकेट लिएका हुन् । उनले रुतुराजलाई २५ रनको व्यक्तिगत स्कोरमा कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए ।

यसैगरी भारतीय टोलीको दोस्रो विकेट सोमपाल कामीले लिएका हुन् । उनले भारतीय ब्याट्सम्यान तिलक बर्मालाई दुई रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काए । सोमपालले तिलकलाई बोल्ड गरेका हुन् ।

यसैगरी भारतको तेस्रो विकेटका रुपमा जितेश शर्मा आउट भएका थिए । उनको विकेट नेपाली बलर सन्दिप लामिछानेले लिएका हुन् । यसैगरी दीपेन्द्रसिंह ऐरीले भारतको चौथो विकेट लिएका थिए । उनले भारतका ओपनर ब्याट्सम्यान यशस्वी जैसवाललाई पेभेलियन फर्काएका थिए ।

प्रतिक्रिया दिनुहोस्