खसी बोका बिक्री नहुँदा मर्कामा व्यापारी 



काठमाडौँ । चाडबाडको मुखमा खसी बोका बिक्री नहुँदा किसान निराश बनेका छन् । डडेल्धुराको भित्री मधेस क्षेत्रबाट खसी बोका लिएर महेन्द्रनगर पुगेका किसान आफूले पालेका खसी बोका बिक्री नहुँदा चिन्तित बनेका छन् ।

परशुराम नगरपालिका–८ गुप्तीगडाका किसान खसी बोका बिक्री गर्न दुई दिन पैदल हिँडेर महेन्द्रनगर झरेका छन् । बाख्रापाला गरेर जीविकोपार्जन गर्दै आएका उनीहरूलाई गतिलो व्यापार नहुँदा घर खर्च जोहो गर्न सकस परेको छ । खसी व्यापारी जिते धामीले केही वर्षयता खसी बोकाको व्यापार हुन नसकेको बताएका छन् । विगतका खसी बोका नै आम्दानीको स्रोत रहेकोमा बिक्री नहुँदा अब घर खर्च चलाउनै मुस्किल परेको बताएका छन् ।

चाडबाडमा खसी बोका बिक्री नहुनुका साथै बिक्री भइहाले पनि उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् । भारतबाट आयात हुने खसीबोकाका कारण नेपाली उत्पादन बिक्री हुन नसकेको  धामीले बताए । उनले भने, भारतबाट सहजै खसी बोका आउँछन्, नेपाली बजारमा तिनै खसी बोका बेचिन्छन् ।  बजारको उचित व्यवस्थापन नहुँदा खसी बोका बेच्न सकस छ, कोही किन्न आइहाले पनि मोलमोलाइ बढी गर्छन्, मोल नै पाउँदैनौँ ।”

गत असोज ३० गते उनले १३ खसी बोका बिक्रीका लागि महेन्द्रनगर ल्याएका थिए । तीमध्ये तीन दिनसम्म दुई वटा खसी मात्रै बिक्री भएको धामीको भनाइ छ । बाख्रापाला गरेर जीवन धानेका डडेल्धुराको भित्री मधेसका किसान प्रत्येक वर्ष खसी बोका बेच्न तराई झर्ने गर्दछन् ।

परशुरामबाट नौ जना किसानले एक सय ५० खसी बोका बिक्रीका लागि महेन्द्रनगर पुर्‍याएका छन् । तीमध्ये अहिलेसम्म ५० मात्रै बिक्री भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्