श्रीलङ्कालाई ३ सय २ रनले हराउँदै भारत सेमिफाइनलमा 



मोहमद सामी

काठमाडौँ । भारतमा जारी आइसिसी एक दिवसीय विश्वकप क्रिकेटमा भारतसँग श्रीलङ्काले लज्जास्पद हार बेहोरेको छ । शुक्रवार भएको खेलमा भारतले श्रीलङ्कामाथि ३ सय २ रनको जित निकालेको हो । शानदार जित सहित भारत भने विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

वानखडे स्टेडियममा भारतले प्रस्तुत गरेको ३ सय ५८ रनको लक्ष्य पछ्याएको श्रीलङ्का मात्र ५५ रनमा अलआउट भयो । श्रीलङ्काले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाएको हो ।

कसुन राजिथाले १४ तथा महेश थिक्षणा र एन्जेलो मेथिसले समान १२ रन बनाउनु बाहेक अन्य कुनै ब्याटरले दोहोरो अंकको बनाउन सकेनन् ।मोहमद सामीले ५ तथा मोहमद सिराजले ३ विकेट लिएपछि श्रीलङ्काको इनिङ्स पुरै धराशायी बनेको थियो । जसमा जसप्रीत बुम्राहा र रविन्द्र जडेजाले समान १ विकेट लिएका थिए ।

सुरुआती ब्याटिङ गरेको भारतले ८ विकेट गुमाएर ३ सय ५७ रन बनाएको थियो । ओपनर रोहित शर्मालाई ४ रनमा गुमाएपनि त्यसपछिका ब्याटरले शानदार ब्याटिङ प्रर्दशन गरेका थिए । सुभमन गिलले ९२ रन बनाएको इनिङ्समा विराट कोहलीले ८८ र श्रेयश इयरले ८२ रन बनाएका थिए ।

केएल राहुलले २१, सुर्यकुमार यादवले १२, रविन्द्र जडेजाले ३५ र मोहमद सामीले २ रन बनाएका थिए । जसप्रीत बुम्राहा १ रनमा अविजित रहेका थिए ।

श्रीलङ्काका मदुशंकाले ५ विकेट चट्काएका थिए । दुष्मंथा चमिराले १ विकेट झारेका थिए । भारत प्रतियोगिताको सेमिफाइनल पुग्ने पहिलो टिम बनेको छ । भारतले यस विश्वकपमा ७ खेलमा अपराजित रहदै १४ अङ्क बटुलेर शीर्ष स्थानमा छ । श्रीलङ्का मात्र २ खेलमा जित निकाल्दै ४ अङ्क सहित सातौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्