नेपाल युएईसँग ४-० गोल अन्तरले पराजित



काठमाडौँ । फिफा विश्वकप २०२६ छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युएईसँग ४ गोल अन्तरले पराजित भएको छ । पहिलो हाफमा युएईले उत्कृष्ट प्रदर्शन गर्दै ४ गोल गरेपछि नेपाल ४-० ले पराजित भएको हो । घरेलु टोलीको जितमा कप्तान अलि मखबूटले दुई गोल गरे भने खलिफा अल९हम्मादि र फावियो लिमाले १-१ गोल गरे ।

खेल अवधिभर नै युएईले नेपाललाई दबाबमा राखेको थियो । चोटका कारण लाकेन लिम्बुलाई गुमाएपछि उनको स्थानमा आएका अमृत श्रेष्ठका लागि खेल बिर्सनलायक बन्यो । १८ औँ मिनेटमा मैदान प्रवेश गरेका अमृतले पहेँलो कार्ड र दुई गोलमा गल्ती गरेपछि हाफ टाइममा बाहिरिएका थिए । उनको स्थानमा योगेश गुरुङले अवसर पाएका थिए ।

दोस्रो हाफमा नेपालले दबाब खेपेपनि गोल भने खाएन । पहिलो हाफको तुलनाम दोस्रो हाफमा नेपालले काउन्टर अट्याकमा केहि अवसर पनि सिर्जना गरेको थियो । तर त्यसलाई गोलमा परिणत गर्न भने टोली असफल रह्यो ।

१० औँ मिनेटमा युएईले खेलमा अग्रता लियो । अलि अम्रोको क्रसमा खलिफा अल-हम्मादिले हेडर मार्फत गोल गर्दै घरेलु टोलीलाई अघि बढाए । १३ औँ मिनेटमा नेपालका लेफ्ट ब्याक चौधरीले बक्स बाहिर बाट आफ्नो कमजोर खुट्टाले गरेको प्रहार पोस्टको धेरै माथिबाट बाहिरियो । २६औँ मिनेटमा अब्दल्लाह बेखितको थ्रु९पासमा काइओ कोरेयाको प्रहार किरण चेम्जोङले बक्सको छेउमा आएर बचाए ।

२९औँ मिनेटमा फाबियो लिमाको फ्री९किक प्रहार किरण चेम्जोङले पुनः बचाए । त्यस लगत्तै उनकै बक्स बाहिरबाट गरेको प्रहारले भने पोस्टको दिशा लिन सकेन । ३४औँ मिनेटमा लिमाको कर्नर किकमा कोरेयाको हेडर क्रसबारमा लागेर फर्कियो । ३५औँ मिनेटमा घरेलु टोलीले अग्रता दोब्बर गर्ने सुनौलो अवसर प्राप्त गर्यो । अमृत श्रेष्ठले बेखिटमाथि फाउल गरेपछि युएईले पेनाल्टी पाएको थियो ।

युएईका कीर्तिमानी गोलकर्ता अलि मखबूटले पेनाल्टीमा सहजै गोल गर्दै अग्रता दोब्बर बनाए । ४४औँ मिनेटमा मखबूटले अर्को गोल थपे । जाएद अल९जाबिको हेडर पासमा मखबूटले हेडर मार्फत नै गोल गर्दै खेलमा व्यक्तिगत दोस्रो गोल गरे । फाबियो लिमाले थपिएको समयको पहिलो मिनेटमा खेलको चौथो गोल गरे । बेखिटको पासमा उनले सहजै फिनिश गरेका थिए ।

दोस्रो हाफमा पनि घरेलु टोलीले नै प्रभुत्व जमायो । ५०औँ मिनेटमा मखबूटको प्रहार रोहित चन्दले ब्लक गरे। ५३औँ मिनेटमा आशिष चौधरीको क्रसमा छिरिङ लामाको हेडर युएई खालिद अल९मेसमारीले सहजै बचाए ।

७९औँ मिनेटमा मोहम्मद अल९ब्लूशीको प्रहार किरणले सहजै बचाए । ८१औँ मिनेटमा मनिष डाँगीले बक्सको छेउ बाट प्रहार गरेको हाफ-भली अल-मेसमारीले राम्रो बचाउ गरे । ८६औँ मिनेटमा काईओ कोरेयाको प्रहार किरणले पुनः बचाए । नेपालले छनोटको दोस्रो खेलमा यमन विरुद्ध नोभेम्बर २१ मा काठमाडौँमा खेल्नेछ । यस समूहमा नेपालसँगै यमन, युएई र बहराइन छन् ।

प्रतिक्रिया दिनुहोस्