भारतीय राजदूतावास  र अर्थ मन्त्रालयसँगको परियोजना पोर्टफोलियो कार्यसम्पादन समीक्षा बैठक सम्पन्न 



पोर्टफोलियो कार्यसम्पादन समीक्षा बैठक

काठमाडौँ । काठमाडौँस्थित भारतीय राजदूतावास र नेपाल सरकारको अर्थ मन्त्रालयको परियोजना पोर्टफोलियो कार्यसम्पादन समीक्षा बैठक सम्पन्न भएको छ ।  भारतीय टोलीको नेतृत्व नेपालका लागि भारतीय राजदूत महामहिम श्री नवीन श्रीवास्तवले गरे भने नेपाली टोलीको नेतृत्व नेपाल सरकारका अर्थमन्त्री डा। प्रकाशशरण महतले गरेका हुन् । समीक्षा बैठक मङ्सिर १४ गते काठमाडौँमा सम्पन्न भएको हो ।

बैठकमा परियोजना कार्यान्वयनमा संलग्न नेपाल सरकारका सम्बन्धित मन्त्रालय, विभाग एवम् निकायका प्रतिनिधिका साथै भारतीय राजदूतावासका सम्बन्धित अधिकारी तथा कर्मचारीको सहभागिता रहेको थियो ।

बैठकमा विविध सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) का साथै अनुदान सहयोगमा भारत–नेपाल विकास सहकार्य ढाँचा अन्तर्गत विभिन्न क्षेत्रमा सञ्चालन भइरहेका परियोजनाबारे दुई पक्षबिच छलफल भएको हो । बैठकमा भारत र नेपालबिच भविष्यमा हुन सक्ने सहकार्यका सम्भावित क्षेत्रहरूबारे पनि छलफल भएको छ ।

बैठकमा राजदूत श्रीवास्तवले भारतको नेपालसँगको बलियो विकास सहकार्यबारे जानकारी गराउनुका साथै भविष्यमा नेपाल सरकारले तोकेको प्राथमिकता अनुसार विकास सहकार्यमा नेपाललाई सघाउन र नेपाल सरकारसँग काम गर्न भारत सरकार प्रतिबद्ध रहेको बताए । अर्थमन्त्री डा।महतले भारत सरकारको विकास सहयोगको प्रशंसा गर्दै नेपालको विकास प्रयासलाई अघि बढाउन भारत सरकारले खेलेको महत्त्वपूर्ण भूमिकाबारे प्रकाश पारे । उनले अन्य सम्भावित क्षेत्रमा पनि यो सहयोगलाई थप अभिवृद्धि गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए ।

भारत नेपालको सबैभन्दा ठुलो र प्रमुख विकास साझेदार हो ।  सन् १९५१ मा सुरु भएको भारत–नेपाल विकास साझेदारी विगत सात दशकमा झनै फैलिएको छ र निरन्तरता पाएको छ । विकास साझेदारी अन्तर्गतका परियोजनाहरू भौगोलिक रूपमा नेपालभर फैलिएका छन् र आकार र क्षेत्रका हिसाबले अलग छन् ।

प्रतिक्रिया दिनुहोस्