एनसेल बिक्री रातारात भएको होइन, राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ छ : गगन थापा



काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एनसेलको सेयर स्वामित्व खरिद बिक्रीमा नेपालको राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ भएको आरोप लगाएका छन् । शुक्रवार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा बोल्दै उनले एनसेलको स्वामित्व खरिद बिक्री रातारात नभएको बताए ।

उनले भने, ‘म के कुरा दाबाका साथ भन्न सक्छु भने एनसेलको सन्दर्भमा जे कुरा भएको छ, रातारात भएको होइन, राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वको ठुलो साठगाँठ, ठुलो भरथेग, ठुलो भरोसा नभई यो कुरा भएको छैन ।’

गत हप्ता मलेसियाली कम्पनी आजियटाले एनसेलको आफ्नो भागमा रहेको सेयर गैर आवासीय नेपाली सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई ५ करोड डलरमा बिक्री गरेको सार्वजनिक भएको थियो । उक्त कारोबार आकस्मिक र अविश्वसनीय रहेको भन्दै प्रश्न उठिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्