सेमिफाइनलमा पुग्ने लक्ष्यसहित नेपाल आज अफगानिस्तानसँग खेल्दै 



एसिसी यू–१९ एसिया कप

काठमाडौँ । नेपालले एसिसी यू–१९ एसिया कपमा आज अफगानिस्तान विरुद्ध खेल्ने भएको छ । खेल बिहान ११ स् १५ मा दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मैदानमा सुरु हुनेछ । नेपाल अफगानिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ने सम्भावना कायमै राख्न चाहन्छ ।

आजको खेलमा यदि पराजित भएमा नेपालको सेमिफाइनल सम्भावना अङ्क गणितीय बाँकी हुनेछ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । उता अफगानिस्तानले भारतसँग ७ विकेटले हारेको थियो । दुवै टोली पहिलो जितको सोचमा हुनेछन् ।

नेपालले आजको खेलमा एक परिवर्तन गर्ने सम्भावना छ । स्पिनर तिलकराज भण्डारीको स्थानको तीव्र गतिका बलर हेमन्त धामीलाई मौका दिन सक्छ । तीव्र गतिका बलर सहयोगी पिच हुँदा हेमन्तलाई मौका दिन सक्छ । नेपालले दीपेश र सुभाष भण्डारीलाई स्पिनरमा निरन्तरता दिने देखिन्छ ।

अफगानिस्तानको मध्य क्रम र तल्लो क्रम ब्याटिङ कमजोर छ । शीर्ष क्रमका ब्याटरको प्रदर्शनमा भर पर्न सक्छ । नेपालको बलिङ आक्रमणको सुरुवात गुलशन र आकाशले गर्नेछन् । यी दुईले सुरुवातमा विकेट लिन सके नेपाल खेलमा हाबी हुनसक्छ । भारतविरुद्ध ४३ रन बनाएका जम्शिद जद्रान, अक्रम मोहम्मदजाई र विकेटकिपर नुमान शाह अघा प्रमुख ब्याटर हुन् । बसिर अहमद अफगान वाहिदुल्लाह जद्रान र खलिल अहमद प्रमुख बलर हुन् ।

नेपालले अन्तिम खेल मङ्गलवार भारतसँग खेल्नेछ । पहिलो खेलमा हारपछि शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न बाँकी दुवै खेलमा जित हात पार्नुपर्ने हुन्छ । समूह ए मा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान छन् । समूह बी मा युएई, जापान, बङ्गलादेश र श्रीलङ्का छन् । आजको अर्को खेलमा भारत र पाकिस्तानबिच प्रतिस्पर्धा हुनेछ ।

नेपालले २०१५ देखी २०१८ सम्म अफगानिस्तानसँग ५ खेल खेलेको थियो । पाँचै खेलमा नेपाली युवा टोली पराजित भएको थियो । पछिल्लो समय अफगानिस्तान नेपालमाथि हाबी हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्