त्रिविको उपकुलपतिका लागि दरखास्त आह्वान



काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज गोरखापत्रमा सूचना प्रकाशन गर्दै दरखास्त आह्वान गरेको हो ।

सूचनामा योग्यता पूरा गरेका इच्छुक नेपाली नागरिकलाई आजदेखि १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारस्थित समितिको कार्यालयमा दरखास्त पेस गर्न आह्वान भनिएको छ ।

१६ कात्तिकमा प्रा।डा।धर्मकान्त बाँस्कोटा पदावधि सकिएर पदमुक्त भएपछि त्रिभुवन विश्वविद्यालय उपकुलपति विहीन छ । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा।डा।शिवलाल भुसाललाई तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिएका थिए ।  त्यसको भोलिपल्ट उपकुलपति नियुक्तिका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको संयोजकत्वमा सर्च कमिटी गठन भएको थियो ।

त्यही कमिटीले उपकुलपति नियुक्तिका लागि आज दरखास्त आह्वान गरेको हो । सर्च कमिटीले सिफारिस गरेको उम्मेदवारलाई कुलपति (प्रधानमन्त्री) ले उपकुलपति नियुक्त  गर्ने व्यवस्था छ ।

उपकुलपति हुन इच्छुक आवेदकले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वैयक्तिक विवरण ३ प्रति, स्नातकोत्तर र विद्यावारिधि तहको शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि, प्राध्यापकको सुरु नियुक्त पत्रका प्रमाणित प्रतिलिपि बुझाउनु पर्ने छ ।

यसै गरी विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि पनि बुझाउनु पर्ने छ ।यसै गरी बढीमा तीन हजार शब्दमा विश्वविद्यालय सम्बन्धी सोच पत्र तीन प्रति र बढीमा ५ हजार शब्द रहेको चार वर्षे व्यावसायिक कार्य योजना पनि पेस गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्