भारत-नेपाल अन्तर-सरकारी उपसमिति (आइजीएससी) को बैठक सम्पन्न



काठमाडौँ । भारत- नेपाल अन्तर-सरकारी उपसमिति (आइजीएससी) को बैठक सम्पन्न भएको छ । अनधिकृत व्यापार नियन्त्रण  गर्ने हेतु व्यापार, पारवहन र सहकार्य सम्बन्धी भारत-नेपाल अन्तर-सरकारी उपसमिति (आइजीएससी) को पछिल्लो बैठक मिति २०८० पौष २७ देखि २८ गतेसम्म काठमाडौँमा सम्पन्न भएको छ ।

काठमाडौँस्थित भारतीय राजदूतावास तथा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारी सम्मिलित भारतीय टोलीको नेतृत्व भारत सरकार वाणिज्य मन्त्रालयका सहसचिव  विपुल बंशलले गरेका हुन् । नेपाबाट विभिन्न नेपाली मन्त्रालय र विभागका प्रमुख प्रतिनिधि सम्मिलित नेपाली टोलीको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव श्री रामचन्द्र तिवारीले गरेका हुन् ।

व्यापार र लगानी सम्बन्धलाई सुदृढ बनाउन लक्षित  द्विपक्षीय संयन्त्र आईजीएससीको यो बैठकले विभिन्न महत्त्वपूर्ण विषयहरूमा व्यापक छलफल भएको छ । दुवै पक्षले औषधीय तथा आयुर्वेदिक वस्तुका लागि आपसी बजार पहुँच बारे छलफल गरेका छन्। भारतीय पक्षले एफडीआईलाई प्रोत्साहन गर्न हेतु पेरिस महासन्धिको प्रावधान अनुसार आईपीआर व्यवस्थाको आवश्यकतामाथि चर्चा गर्यो ।

नयाँ एकीकृत जाँच चौकी र रेलमार्ग निर्माणसहित भारत र नेपालबिचको निर्बाध अन्तर्देशीय कनेक्टिभिटीलाई थप सुदृढ गर्न द्विपक्षीय पहलको आवश्यकतालाई बैठकले जोड दिएको थियो । समृद्ध द्विपक्षीय व्यापारबारे साझा दृष्टिकोण प्रस्तुत गर्दै दुवै पक्षले यी पहलहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

नेपालको आयात र निर्यातमा उल्लेखनीय योगदान पुर्‍याइरहेको भारत नेपालको प्रमुख व्यापार र लगानी साझेदारको रूपमा रहेको छ । यस बैठकमा भएको छलफलले दुई देशबिचको आर्थिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्