अष्ट्रेलियाविरुद्ध नामिबिया ९१ रनमा अलआउट



काठमाडौँ । अष्ट्रेलियाले जितका साथ दक्षिण अफ्रिकामा जारी आइसिसी यू १९ विश्व कप क्रिकेटको सुरुवात गरेको छ । समूह सीमा पहिलो खेल खेल्ने क्रममा सोमबार अष्ट्रेलियाले नामिबियालाई ४ विकेटले हराएको छ ।

९२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । झिनो लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाका लागि पनि ब्याटिङ सहज भने रहेन ।

कप्तान हुग विब्गेनले टोलीका लागि सर्वाधिक ३९ रनमा नआउट रहँदै मोर्चा सम्हालेका थिए । तेस्रो नम्बरमा ब्याटिङ गरेका हुगले ४३ बलमा ४ चौका प्रहार गरेका थिए । ओपनर ह्यारी डिक्सन र राफ म्यामिलनले समान १६ रन बनाए भने अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नामिबियाका ज्याक ब्रासेलले ८ ओभरमा २ मेडनसहित २८ रन दिएर ३, हान्रो बाडेनहोस्र्टले २ र हेन्री भान वेकले १ विकेट लिएका थिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियालाई अष्ट्रेलियाले ३३.१ ओभरमा ९१ रनमा अलआउट गरेको थियो । अष्ट्रेलियाका कालुम भिड्लेरले म्यान अफ दी म्याच प्रदर्शन गर्ने क्रममा ४ विकेट लिएका थिए । उनले ८.१ ओभरमा ३ मेडनसहित १७ रन खर्चेका थिए ।

उनलाई साथ दिने क्रममा टोम स्ट्राकेरले ८ ओभरमा २ मेडनसहित १६ रन दिएर ३ विकेट, मिह्ली र्बेडमनले ८ ओभरमा १५ रन खर्चेर २ विकेट र राफ म्याकमिलनले १ विकेट लिएका थिए ।

नामिबियाका ३ ब्याटरले मात्र दोहोरो अङ्कमा रन जोडे । जाचेउ भान भुरेनले सर्वाधिक २९ , अलेक्जेन्डर बुसिङ भोल्सचिन्कले २१ र हार्नो बाडेनर्होस्टले नकआउट ११ रन बनाए । समूहको पहिलो खेलमा श्रीलङ्काले जिम्बावेलाई हराएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्