सुदूरपश्चिममा संसदीय दलको नेता फेर्ने निर्णय सच्याउन माओवादीको निर्देशन



माओवादी

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिमले प्रदेश संसदीय दलको नेता फेर्ने निर्णय गरेकोमा तत्काल सो निर्णय सच्याउन निर्देशन दिएको छ । शनिवार बसेको प्रदेश अध्यक्ष हरिराम चौधरी(उत्सव)को अध्यक्षतामा बसेको पदाधिकारी बैठकले उक्त निर्णय सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो ।

संसदीय दलका नेता खगराज भट्टको जानकारीबिना उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दलको नेता परिवर्तन र सरकार परिवर्तन गर्ने भन्ने कुराप्रति ध्यानाकर्षण भएको जनाउँदै सच्याउन निर्देशन दिने निर्णय भएको माओवादी केन्द्रले जनाएको छ ।

‘यही मिति २०८० माघ १२ गते नेकपा ९माओवादी केन्द्र० सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक दल नेता कमरेड खगराज भट्टको जानकारीबिना उपनेता कमरेड अक्कलबहादुर रावलको अध्यक्षता बसी दलनेता परिवर्तन र सरकार परिवर्तन गर्ने भन्ने कुराप्रति पदाधिकारीहरूको गम्भीर ध्यानाकर्षण भएको छ,’ निर्णयमा भनिएको छ, ‘हाम्रो पार्टी परम्परा,विधि विपरीत केन्द्रीय निर्देशनको समेत अवज्ञा गरी गरिएको निर्णयले पार्टीमा अराजकता र स्वेच्छाचारिताले संस्थागत मान्यता पाउने खतरा हुने भएकोले संसदीय दलको यो निर्णय पार्टीका हजारौँ कार्यकर्ताको मनोभावना विपरीतको भएकोले अविलम्ब सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरियो ।’

शुक्रवार बसेको माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका बहुमत सांसदको बैठकले भट्टलाई हटाएर दलको नेतामा मानबहादुर धामीलाई बनाउने निर्णय गरेको थियो ।

संसदीय दल र प्रदेश सरकारको कार्यसम्पादन सन्तोषजनक नभएको कारण देखाउँदै उनीहरूले यसअघि गत २१ पुसमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै दल नेता र मन्त्री फेर्नुपर्ने आग्रह गरेका थिए ।

त्यही बेला बहुमत सांसदको भावनाअनुसार अघि नबढेमा संसदीय दलको विधानअनुसार निर्णय लिने चेतावनी दिएका बहुमत सांसदले दलको नेता परिवर्तन गरेपछि माओवादी सुदूरपश्चिममा विवाद सिर्जना भएको हो ।

प्रतिक्रिया दिनुहोस्