अष्ट्रेलिया एसियन कपको क्वाटर फाइनलमा



काठमाडौँ । अष्ट्रेलिया कतारमा जारी एएफसी एसियन कपको क्वाटर फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । आइतबार साँझ भएको पहिलो प्रि-क्वाटर फाइनलमा इन्डोनेसिया माथि ४-० को फराकिलो जित सहित २०१५ को विजेता अष्ट्रेलिया अन्तिम आठमा प्रवेश गरेको हो ।

११औँ मिनेटमा इन्डोनेसियाका एलकान बाग्गोटको आत्मघाती गोलको मद्दतले अष्ट्रेलियाले खेलमा सुरुवाती अग्रता लिएको थियो । ज्याक्सन अरभाइनको प्रहार उनले आफ्नै पोस्टमा हालेका थिए ।

खेलको ४५औँ मिनेटमा अष्ट्रेलियाले दोस्रो गोल गर्यो । गेथिन जोन्सको सटिक पासमा मार्टिन बोएलले हेडर मार्फत गोल गर्दै अग्रता दोब्बर बनाए । थप दुई गोल भने खेलको अन्त तर्फ आएको थियो । ८९औँ मिनेटमा अरभाइनको प्रहार एरनाण्डो सुटारयादीले क्रेग गुडविनको तर्फ फालेपछि उनले सहजै गोल गरे ।

इन्ज्युरी समयको पहिलो मिनेटमा गुडविनको क्रसमा डिफेन्डर ह्यारी सुट्टारले गोल गर्दै चौथो गोल गरे । अष्ट्रेलियाले अब क्वाटर फाइनलमा साउदी अरेबिया र दक्षिण कोरिया बीचको खेलको विजेता विरुद्ध खेल्ने छ । आज नै हुने दोस्रो प्रि९क्वाटर फाइनलमा ताजिकिस्तान र युएई भिड्ने छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्