बङ्गलादेशविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने



काठमाडौँ । नेपालले दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ मा बङ्गलादेशसँग टस जितेर पहिला ब्याटिङ रोजेको छ ।  माङ्गाउङ्ग ओभलमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । आजको खेलमा विशाल विक्रम केसी र दुर्गेश गुप्तालाई मौका दिएको छ । पछिल्लो खेलमा अफगानिस्तानबाट नेपालले तिलकराज भण्डारी र दिपक डुम्रेलाई बेन्चमा राखेको छ । नेपाल सुपर सिक्स खेल्नु अघि नै सेमिफाइनल दौडबाट बाहिर भइसकेको छ ।

त्यसैले नेपालको लक्ष्य बिना दबाब उत्कृष्ट खेल्दै बङ्गलादेशलाई दुई दशकपछि स्तब्ध पार्ने सोच हुनेछ । उता बङ्गलादेशलाई भने सुपर सिक्सको अङ्क गणीतिय सम्भावना कायमै राख्न विशाल जित आवश्यक पर्दछ । नेपाल सुपर सिक्समा २ खेलमा अङ्क विहीन हुँदै पाँचौँ स्थानमा छ । बङ्गलादेश २ खेलमा २ अङ्कका साथ तेस्रो स्थानमा छ । समान ६–६ अङ्क भए पनि नेटरनरेटको कारण भारत शीर्ष र पाकिस्तान दोस्रो स्थानमा छन् ।

नेपालको प्लेइङ ११ : 

अर्जुन कुमाल, विपिन रावल (विकेटकिपर), आकाश त्रिपाठी, देव खनाल (कप्तान), विशाल विक्रम केसी, गुलशन झा, दीपक बोहरा, दीपेश कँडेल, सुवास भण्डारी, आकाश चन्द र दुर्गेश गुप्ता ।

प्रतिक्रिया दिनुहोस्