छ सयभन्दा बढीको तिस करोड ठगी, दुई जना पक्राउ



काठमाडौँ । सुन्दा पनि आङ जिरिङ्ङ हुन्छ, एक जनाले छ सय जनाभन्दा बढीलाई ठग्यो । सोझासाझा गाउँलेबाट ठगिएको रकम पनि करोडौँ छ । वैदेशिक रोजगारीका नाममा हुँदै आएको ठगीमा यो अर्को चर्को ठगी रहेको पाइएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार युरोपका विभिन्न मुलुक तथा क्यानाडामा आकर्षक रोजगारीका लागि पठाइदिने बहानामा यस्तो ठुलो ठगी भएको हो । सोही प्रकरणमा काठमाडौँ–१६, बालाजुस्थित युरो विङ्स एजुकेसन कन्सल्टेन्सीका सञ्चालक विकास वाइबा भन्ने सुजन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार गोरखा भीमसेन–२ का सुदीप अम्गाईबाट छ लाख, खोटाङकी तीर्था मुखियालगायतका तीन जनाबाट १५ लाख, बालाजुका शिव कुँवर तीन तीन लाख कन्सल्टेन्सी सञ्चालक तामाङलाई बुझाएका थिए । रकम बुझेका तामाङले क्रोएसिया र क्यानडाको भन्दै भटाभट मोबाइलमा कामदार भिसा पठाउन थालेपछि विदेश उड्ने तर्खरमा रहेका आम्गाई, मुखिया र कुँवरसहित ६०० भन्दा बढी युवालाई पठाइएको भिसा नक्कली रहेको र कन्सल्टेन्सी सञ्चालक फरार रहेपछि मात्र यसको रहस्य सतहमा आएको हो ।

युरोप र क्यानडाको सपना देखाएर छ सयभन्दा बढी व्यक्तिको झन्डै ३० करोड रुपियाँ ठगेर फरार सो कन्सल्टेन्सी सञ्चालक विकास वाइबा भनिने सुजन तामाङलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । सुजनका सहयोगी भनिएका अर्जुन तामाङलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार क्रोएसिया, माल्टा, क्यानडा, पोल्यान्डलगायतका मुलुकमा पठाउने भन्दै सयौँ व्यक्तिलाई ठगेको आरोपमा ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ घर भई इमाडोल बस्दै आएका विकास वाइबा भनिने सुजन तामाङलाई पक्राउ गरिएको हो ।

तामाङले सञ्चालन गरेको बालाजुस्थित युरो विङ्स एजुकेसन कन्सल्टेन्सीले नक्कली भिसा देखाएर सयौँ व्यक्तिलाई ठगेको भन्दै पक्राउका लागि वैदेशिक रोजगार विभागबाट अनुरोध भएपछि प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।

वाइबाविरुद्ध हालसम्म विभागमा ७० जनाले तीन करोड रुपियाँभन्दा बढी रकम ठगिएको उजुरी दिएका छन् । प्रारम्भिक अनुसन्धानमा तामाङबाट ठगिनेको सङ्ख्या ६१८ जना पुगेको प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले जानकारी दिनुभयो ।

२०७३ देखि वैदेशिक रोजगार कम्पनीका एजेन्ट रहेका सुजन तामाङ २०७७ सालमा ठगी तथा आपराधिक लाभको कसुरमा मुद्दा दर्ता भएपछि फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २०८० वैशाखदेखि परिचय लुकाएर विकास वाइबा भन्ने नक्कली परिचयबाट कन्सल्टेन्सी सञ्चालन गरेका वाइबाले कतिपय सरकारी कर्मचारीलाई समेत युरोप पठाउने भन्दै प्रलोभनमा पारेको पाइएको छ ।

तमाङले क्यानडाका लागि १८ लाख, माल्टाका लागि आठ लाख, पोल्यान्डका लागि सात लाख तथा क्रोएसियाका लागि छ लाख ५० हजार रुपियाँ लिने गरेको अनुसन्धाबाट खुलेको प्रहरीले जनाएको छ ।

बयानमा तामाङले ठगीको रकमबाट चार करोड रुपियाँ ऋण तिरेको, बसुन्धराको राप्ती वैदेशिक रोजगार कम्पनीको सेयर ५० लाखमा किनेको, ३५ लाखमा हुन्डाई कार किनेको, विभिन्न खातामा १५ लाख ५० हजार जम्मा गरेको सहकारीको १५ लाख ऋण तिरेको र पाँच लाखको सुनको सिक्री किनेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

झन्डै तिस करोड रकम ठगेको हुन सक्ने अनुमान गरी प्रहरीले तामाङको बैङ्किङ कारोबारमाथि पनि अनुसन्धान अघि बढाएको जनाएको छ । थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय पठाइएको रेग्मीले जानकारी दिनुभयो । आजको गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्