अरुण चौधरीलाई थप ३ दिन हिरासतमा राख्न अनुमति



काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुण चौधरीसहित ३ जनालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

थप अनुसन्धानका लागि चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रा।लि।का सञ्चालक सञ्जय ठाकुरलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रहरीले उनीहरूलाई १८ माघमा पक्राउ गरेर अदालतमा उपस्थित गराएको थियो । त्यस क्रममा चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले म्याद पाएको थियो ।

सो अवधिमा प्रहरीले तीनै जनाको बयान सकेको छ । तर, थप अनुसन्धान बाँकी रहेको भन्दै प्रहरीले फेरि अनुसन्धानका लागि हिरासतमा राख्न म्याद लिएको थियो ।

बयानका क्रममा चौधरीले कानुनी विपरीत भए आफू जग्गा फिर्ता गर्न तयार रहेको बताएका थिए । तत्कालीन बाँसबारी कारखानाका अध्यक्ष थापाले पनि आफूले गरेको निर्णय कानुन विपरीत भएको थाहा नभएको बताएका छन् । यो प्रकरणमा पक्राउ परेका तीनै जनालाई स्वास्थ्य कारण देखाउँदै ग्राण्डी अस्पतालमा राखिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रवार पत्रकार सम्मेलन गरेर तीन महिना लामो अनुसन्धानपछि चौधरीले १० रोपनी जग्गा हिनामिना गरेको देखिएको दाबी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्