पूर्वमन्त्री एवम् काँग्रेस केन्द्रीय सदस्य बुढाथोकीको निधन



काठमाडौँ । पूर्व सामान्य प्रशासन मन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य केशव कुमार बुढाथोकीको निधन भएको छ । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ८ घर भएका बुढाथोकीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा निधन भएको जनाइएको छ ।

उनी २०७३ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा सामान्य प्रशासन मन्त्री बनेका थिए । उनी एक हप्ता अगाडिदेखि निमोनियाको समस्याले ग्रस्त थिए । बुढाथोकी पञ्चायतकलादेखि नै राजनीतिमा सक्रिय थिए । उनले ‘आफ्नो–आफ्नो सगरमाथा’ पुस्तक पनि लेखेका छन् ।

बुढाथोकीका श्रीमती, दुई छोरा र दुई छोरी छन् । दुवै छोरा र एक छोरी अष्ट्रेलियामा छन् । उनको पार्थिव शरीरलाई गृह जिल्ला झापा पुर्‍याएर कन्काई धाममा अन्त्येष्टि गर्ने तयारी छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बुढाथोकीको निधनको खबरले निकै मर्माहत भएको भन्दै उनको आत्माको चिर शान्तिको कामना गरेका छन् । साथै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्