व्यवस्थापिका र कार्यपालिकालाई हामीले पाल्नुपर्ने आवश्यकता केछ ?



नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारी

काठमाडौँ । सांसद विकास कोषका रूपमा बुझिने ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाएको सन्दर्भमा संसद्मा सत्तारुढ दल नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले प्रश्न उठाएका छन् ।

बुधवार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै  भण्डारीले त्यसमा प्रश्न उठाएका हुन । उनले भने,  ‘हामीले व्यवस्था गरेको संविधानअनुसार, शक्ति पृथकीकरणको सिद्धान्तअनुसार व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको व्यवस्था गरेका छौँ । सोहीअनुसार व्यवस्थापिका सदनले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम पास गरेको थियो । आज त्यो योजना कहाँ छ ? ‘

सरकारले चालु आर्थिक वर्षमा प्रत्येक निर्वाचन क्षेत्रमा लागू हुने गरी पाँच–पाँच करोड रकम यो कार्यक्रमका लागि छुट्टाएको थियो । तर, सांसदलाई विकाससँग जोड्न खोजिएको भन्दै परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाइदिएको छ ।

सर्वोच्च अदालतले संविधानको शब्द, भाव र मर्म समेतलाई दृष्टिगत गर्दै सांसद विकास कोषसम्बन्धी व्यवस्थाहरू तथा ती व्यवस्थाहरूका लागि छुट्टाइएको विनियोजित रकम खर्च गर्ने कार्य कार्यान्वयन नगर्न भनेको थियो ।

अदालतको उक्त आदेशलाई लिएर  प्रश्न उठाउँदै भण्डारीले भने, ‘व्यवस्थापिकाको अधिकार न्यायपालिकाले प्रयोग गर्ने हो भने व्यवस्थापिका र कार्यपालिकालाई हामीले राजश्व तिरेर पाल्नुपर्ने आवश्यकता के छ ? व्यवस्थापिका संसद्ले आफ्नो अधिकार संरक्षण गर्न सक्दैन भने यसले अरूको अधिकार कसरी संरक्षण गर्न सक्छ ? यसको जवाफ हामीले कसरी दिन सक्छौँ ?’

प्रतिक्रिया दिनुहोस्