कोशी प्रदेश सरकार र पहिचान पक्षधरबिच आज वार्ता हुने 



 काठमाडौँ । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबिच आज वार्ता हुने भएको छ । प्रदेशको नाम कोशी खारेज गरेर पहिचानको आधारमा पुनस् नामकरण गर्नुपर्ने माग राख्दै आन्दोलनमा रहेको ‘प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ले वार्ता समिति गठन गरेपछि आज सरकारसँग वार्ता हुन लागेको हो ।

वार्ता दिउँसो ३ बजे विराटनगरको एक होटलमा हुनेछ । ६ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले पहिचान पक्षधरसँग वार्ता गर्न भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगुको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो । वार्ता समितिको सदस्यमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल छन् । वार्ता टोलीले १२ माघमा संयुक्त सङ्घर्ष समितिलाई वार्ताका लागि पत्र पठाएको थियो ।

हिक्मतकुमार कार्की नेतृत्वको सरकारले २०७९ फागुन १७ गते प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर पहिचानका आधारमा नाम राख्नुपर्ने मागसहित आन्दोलनमा छन् ।

तत्कालिन सरकारले तिलकुमार मेन्याङ्बोको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । सो वार्ता टोलीसँग २०८० असार ४ गते पहिचान पक्षधरले पहिलो पटक वार्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्