नेपालले क्यानडालाई हराउँदा बनायो विभिन्न ३ कीर्तिमान



काठमाडौँ । नेपालले दोस्रो ओडिआई खेलमा क्यानडालाई ४ विकेटले हराएको छ । नेपालले क्यानडालाई हराउँदा विभिन्न तीन कीर्तिमान बनाएको छ ।

टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको थियो । क्यानडाका आरोन जोनसनले सर्वाधिक ६५ रन बनाए । नेपालका कुशल मल्ल र रोहित पौडेलले २–२ विकेट लिएका थिए ।

जितको लागि २८६ रनको लक्ष्य पछ्याएको नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा रोहित पौडेलले ८७, देव खनालले ७६ र अनिलकुमार साहले ५०  रन बनाए । यो जितमा सर्वाधिक छिटो अर्धशतक, तेस्रो विकेटका लागि उच्च साझेदारी र उच्च योगफलको कीर्तिमान बनेको छ ।

सर्वाधिक छिटो अर्धशतक

नेपाललाई सानदार सुरुवात दिलाउन अनिलले १९ बलमा अर्धशतक पूरा गरे । यो ओडिआईमा नेपालबाट बनेको सर्वाधिक छिटो अर्धशतक हो । उनले २०२३ मा पपुवा न्युगिनीविरुद्ध आसिफ शेखले हानेको २१ बलको कीर्तिमान तोडेका हुन् । विश्व क्रिकेटमा भने ओडिआईमा सर्वाधिक छिटो अर्धशतक एवी डिभिलियर्सको नाममा छ । डी भिलियर्सले १६ बलमा २०१५ मा वेस्टइन्डिजविरुद्ध हानेका थिए ।

तेस्रो विकेटका लागि उच्च साझेदारी

देव र रोहितले तेस्रो विकेटका लागि १५० रनको साझेदारी गरे । नेपालबाट ओडिआईमा बनेको तेस्रो विकेट र समग्रमा दोस्रो ठुलो साझेदारी हो । यसअघि तेस्रो विकेटका लागि टियु मैदानमा रोहित र कुशल भुर्तेलले नामिबियाविरुद्ध १३३ रनको शतकीय साझेदारी गरेका थिए ।

नेपालबाट ओडिआईमा सर्वाधिक ठुलो साझेदारी ओपनर कुशल भुर्तेल र आसिफ शेखको नाममा छ । यी दुई खेलाडीले २०२३ जुनमा जिम्बावेविरुद्ध पहिलो विकेटका लागि १७१ रनको शतकीय साझेदारी गरेका थिए ।

उच्च योगफल पूराको कीर्तिमान बराबर

ओडिआईमा २८६ रन नेपालले पूरा गरेको उच्च योगफल बराबर हो । यसअघि २०२३ मा टियुमा नै नामिबियाले आईसीसी विश्वकप लिग–२ मा दिएको २८६ रनको लक्ष्य नेपालले पूरा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्