कृषि बिमामा किसानको आकर्षण बढेन



गोदावरी कैलाली ।  सुदूरपश्चिममा कृषि बिमातर्फ किसानको आकर्षण बढ्न सकेको छैन । कृषि बिमासम्बन्धी सचेतना अभिवृद्धि हुन नसक्दा यसतर्फ किसानको आकर्षण बढ्न नसकेको हो ।

कृषि बिमा गर्दा सङ्घीय सरकारले बिमा शुल्कको ८० प्रतिशत र प्रदेश सरकारले २० प्रतिशतसहित शतप्रतिशत शुल्क (प्रिमियम) सरकारले तिर्ने गरेको भए पनि सुदूरपश्चिममा कृषि बिमा गराउने किसानको सङ्ख्या बढ्न नसकेको बिमा प्राधिकरणका सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख हृदयराज पण्डितले बताउनुभयो । कृषि बिमा गराउँदा किसानको पैसा नलाग्ने भए पनि बिमा गराउने कम्पनी गाउँमा पुग्न नसक्दा कार्यक्रम प्रभावकारी हुन नसकेको उहाँको भनाइ थियो ।

पण्डितले चालु आर्थिक वर्षको पुस मसान्तसम्म मुलुकभर कृषि, पशुपन्छी तथा जडीबुटी बिमा गराउनेको सङ्ख्या ७० हजार सात सय ७२ रहेकामा सुदूरपश्चिममा दुई हजार तीन सय १४ बीमालेख मात्रै जारी भएको जानकारी दिनुभयो । कृषि, पशुपन्छी र जडीबुटी बिमा राज्यको प्राथमिकतामा रहे पनि आवश्यक प्रचारप्रसार नहुँदा किसानको आकर्षण बढ्न नसकेको उहाँले बताउनुभयो ।

बिमातर्फ किसानको आकर्षण बढाउन नौ वटै जिल्लामा सञ्चालित एफएम रेडियोमार्फत प्रचारप्रसार गरिनुका साथै पालिका स्तरीय अन्तरक्रिया गरिँदै आइएको पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार कृषि बिमा गर्दा किसानले दुर्घटना बिमाबापतको रु पाँच सय मात्रै तिर्नुपर्ने हुन्छ ।

कृषि बिमाका लागि कृषि ज्ञान केन्द्र र पशुपन्छी बिमाका लागि किसानले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट २० प्रतिशत बराबर हुन आउने रकम भुक्तानी पाउने व्यवस्था गरिएको प्रमुख पण्डितले जानकारी दिनुभयो ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पुस मसान्तसम्म कैलालीमा एक हजार ८४ पशु बिमा, सात माछा बिमा, ९९ कृषि तथा बाली बिमासहित एक हजार एक सय ९० बीमालेख गरिएको छ ।

कञ्चनपुरमा पशु बिमा तीन सय ४०, माछा नौ र कृषि तथा बाली बिमा १६ सहित तीन सय ६५ बिमालेख गरिएको छ । अछाममा दुई सय ९०, डडेल्धुरामा दुई सय ५३, डोटीमा ८२, बझाङमा ८५, बाजुरामा २९ र बैतडीमा २० वटा बिमालेख गरिएको जनाइएको छ । नेपाल बिमा प्राधिकरणको तथ्याङ्क अनुसार दार्चुलामा भने अहिलेसम्म एक जना किसानले पनि कृषि बिमा गराएका छैनन् ।

कृषि बिमा गराउने बिमा कम्पनी गाउँसम्म पुग्न नसक्नु, बिमा गराउन किसान स्वयं तत्पर नहुनु, कम्पनीले कृषि बिमा गराउन पहल नलिनु, बिमा कम्पनीलाई प्रिमियम रकम समयमा भुक्तानी नदिनुलगायत कारणले कृषि बिमा गराउनेको सङ्ख्या बढ्न नसकेको पण्डितको भनाइ थियो ।

सुदूरपश्चिममा पशु बीमालेख सबैभन्दा बढी अर्थात् दुई हजार एक सय ६८ वटा गरिएका छन् भने सबैभन्दा कम माछा बिमा १६ वटा गरिएका छन् । प्रदेशभर एक सय ३० मात्रै कृषि तथा बाली बीमालेख गरिएको जनाइएको छ ।

बिमा प्राधिकरणका अनुसार सुदूरपश्चिमका बिमाभन्दा बढी किसानलाई बिमाको पहुँचमा ल्याउन तीन बिमा कम्पनीलाई जिम्मेवारी दिएको छ । कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलामा नेपाल इन्सोरेन्स कम्पनीले बिमा गराउँदै आएको छ ।

कैलाली, डोटी र बझाङमा राष्ट्रिय बिमा कम्पनी, अछाम, बाजुरामा युनाइटेड अजोक इन्स्योरेन्स कम्पनीले कृषि, पशुपन्छी र जडीबुटी बिमा गराउँदै आएको छ । विसं २०६९ देखि कृषि बिमाको सुरुवात गरिएकामा विसं २०७० देखि सरकारले अनुदान दिन थालेको प्राधिकरणले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्