मन्त्री ज्वालासँग नैतिकता भन्ने चिजै नरहेको ओलीको कटाक्ष 



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा जाँचबुझ आयोगले दोषी देखाएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राजीनामा  नदिएको आपत्ति जनाएका छन् ।

सरकार आफैँले बनाएको जाँचबुझ आयोगले दोषी करार गर्दा पनि राजीनामा नदिने मन्त्री ज्वालालाई नैतिकता हराएको मन्त्री र त्यस्ता मन्त्रीलाई हटाउन नसक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हुतीहाराको संज्ञा दिएका छन् ।

मङ्गलवार पार्टी कार्यालय च्यासलमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा ओलीले भने, ‘सरकारले नै बनाएको आयोगले मन्त्री दोषी हो, मन्त्रीको गलत क्रियाकलापले गर्दाखेरि त्यहाँ मान्छे मर्ने स्थिति आयो । तोकेर भनिएको छ । यस्तो सरकार छ कि । मन्त्रीसँग नैतिकता भन्ने चिज नै छैन, न राजीनामा गर्छ । न सरकारसँग, प्रधानमन्त्रीसँग हटाउने हुती छ ।’

१३ पुसमा ललितपुरको बालकुमारीमा कोरियाली भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै युवाहरूले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । प्रहरीको कारबाहीमा दुई युवाको मृत्यु भएको थियो । सरकारले गठन गरेको जाँचबुझ आयोगले दुई युवाको ज्यान जानुमा आन्दोलन भइरहेका बेला त्यहाँ पुगेका मन्त्री प्रकाश ज्वालाको पनि दोष रहेको देखाएको थियो । एमाले अध्यक्ष ओलीले आयोगले दोषी देखाएका मन्त्रीले पद नछाडेर लोकलाज पनि नराखेको बताए ।

प्रतिक्रिया दिनुहोस्