साम्बाको पाँच गोलको मद्दतमा नेपालको सानदार जित 



काठमाडौँ । सावित्रा भण्डारी ‘साम्बा’ ले पाँच गोल गरेसँगै नेपालले वाफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेलमा इराक विरुद्ध फराकिलो जित दर्ता गरेको छ । पहिलो हाफमा चार गरी कुल पाँच गोल गरेसँगै उनले आफ्नो अन्तराष्ट्रिय करियरमा ४४ खेलमा ४९ गोल पुर्याएकी छन् । खेलको सुरुवाती समयमा खेलमा आफ्नो पकड बनाउन नसकेको नेपालले त्यसपछि भने लगातार आक्रमण बुन्यो । इराकले बल राख्ने बित्तिकै हाइ-प्रेस गर्दै नेपालले इराकलाई सहजै बल राख्न दिएको थिएन ।

सातौं मिनेटमा नेपाल गोल गर्नको निकै नजिक पुगेर चुक्यो । साम्बाको क्रसमा रेखा पौडेलले बक्स भित्रबाट गरेको प्रहार पोस्टको बाहिरपट्टि लागेर बाहिरियो । नवौं मिनेटमा रेखाको पासमा अमिषा कार्कीको प्रहार ब्लक हुन पुग्यो । १४औं मिनेटमा साम्बाले नेपाललाई अग्रता दिलाइन् । रेखा पौडेलले आफ्नै हाफबाट खेलेको पासमा आफ्नो तिव्र गतिको प्रयोग गर्दै उनले सुन्दर फिनिशका साथ नेपाललाई खेलमा अग्रता दिलाएकी हुन् ।

१६औं मिनेटमा साम्बाले नै नेपालको दोस्रो गोल गरिन् । इराकी डिफेन्डर दिरिन मुल्लाबाकरबाट बक्स भित्र नै बल खोसेर उनले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् ।१९औं मिनेटमा रेखाले गोल गर्ने राम्रो अवसर खेरा फालिन् । उनको प्रहार गोलरक्षक जाहरा अल सदेइले बचाइन् । २१औं मिनेटमा प्रिती राईले साम्बाको पासमा गरेको प्रहार पनि अल सदेइले बचाइन् ।

२६औं मिनेटमा अनिता बस्नेतले कर्नरबाट पोस्टमा प्रहार गरिन् । पहिलो खेलमा उनले सिधै कर्नरबाट गोल गरेकी थिइन् । रिबाउन्डमा साम्बाले पोस्टभन्दा माथि प्रहार गरिन् ।३७औं मिनेटमा साम्बाले तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन् । पूजा रानाले गरेको क्रसमा सहजै हेडर मार्फत गोल गर्दै उनले नेपालको अग्रता पनि तीन गोलको बनाइन् ।

४४औं मिनेटमा उनले अर्को गोल थपिन् । रेखाको पासमा उनले गरेको पहिलो प्रहार अल सदेइले बचाएपनि दोस्रो पटकमा गोल गर्दै उनले खेलमा व्यक्तिगत चौथो गोल गरिन् । ८०औं मिनेटमा साम्बाले पाँचौं गोल गरिन् । प्रितीको थ्रु९पासमा साम्बाले खेलमा रन बनाउँदै उनले इराकी गोलकिपरलाई बिट गर्दै खेलमा नेपालको र व्यक्तिगत पाँचौं गोल गरिन् ।

नेपालको समूहमा २ खेलमा ६ अंक भएको छ । नेपालले समूह चरणको पहिलो खेलमा सिरिया माथि ४-१ को सानदार जित हात पारेको थियो । नेपालले अब समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइन विरुद्ध शनिबार खेल्ने छ ।

प्यालेस्टाइनले आज आफ्नो दोस्रो खेलमा सिरिया विरुद्ध खेल्नेछ । पहिलो खेलमा प्यालेस्टाइनले इराक माथि ३-० को जित निकालेको थियो ।अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन् । दुवै समूहका शीर्ष दुई टोलीले सेमीफाइनलको यात्रा तय गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्