रेशम चौधरीको पार्टी सदस्यतामै उठ्यो प्रश्न



काठमाडौँ । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी नाउपाका अध्यक्ष रेशम चौधरीको सदस्यतामा प्रश्न उठाएको छ । आयोगले नाउपालाई पत्र पठाउँदै चौधरीले पार्टी सदस्यता लिएको मितिका बारेमा जानकारी मागेको हो।

गत माघ २९ गते नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी पार्टी अध्यक्ष भएकोसहितको दलको विवरण अध्यावधिकका लागि निर्वाचन आयोगका निवेदन दिएको थियो ।

यस सम्बन्धमा थप स्पष्टताका लागि भन्दै निर्वाचन आयोगले शुक्रवार नाउपालाई रेशम लाल चौधरीले नागरिक उन्मुक्ति पार्टीको सदस्यता के कुन मितिमा लिएका हुन् भन्दै प्रश्न गरेको छ ।

पत्रमा नाउपाको विधानअनुसार उक्त पार्टीको पदाधिकारी हुन कम्तीमा एक कार्यकाल केन्द्रीय समितिमा रहेको हुनुपर्ने व्यवस्थाको समेत स्मरण गराइएको छ । नागरिक उन्मुक्ति पार्टीको अन्तरिम विधान २०७८ को धारा १५ मा पदाधिकारी हुन कम्तीमा एक कार्यकाल केन्द्रीय कमिटीको सदस्य भएको हुनुपर्नेछ भन्ने व्यवस्था छ । यही व्यवस्था सम्झाउँदै निर्वाचन आयोगले सोधेको छ, ‘रेशम लाल चौधरीलाई पदाधिकारी बनाएको देखिएको हुँदा उक्त विषय विधान सम्मत हो होइन ?’

निर्वाचन आयोगले निज (रेशम लाल चौधरी) केन्द्रीय समितिमा कहिले र कुन कार्यकाल केन्द्रीय कमिटीमा रहेका थिए रु सो विवरण खुल्ने कागजात के छन् ? त्यसका आधार र कारण के के रहेका छन् भन्दै प्रश्न गरेको छ ।

२७ पुस २०८० मा नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा चौधरी सर्वसम्मत चयन भएका थिए । कैलालीको टीकापुरमा सम्पन्न महाधिवेशनबाट अध्यक्षमा चौधरीसहितका पदाधिकारी चयन भएको जानकारीसहित दलको अभिलेख अध्यावधिकका लागि निर्वाचन आयोगमा नाउपाको निवेदन नपुग्दै उनी विरुद्ध दुई वटा उजुरी समेत परेका थिए । त्यस आधारमा आयोगले बिहीबार निर्णय नै गरेर शुक्रवार नाउपालाई पत्र पठाएको हो ।

निर्वाचन आयोगले नाउपाको महाधिवेशनको वैधानिकतामा समेत थप स्पष्टता खोजेको छ । रेशम चौधरीले पार्टी सदस्यता समेत नलिएको हुन सक्ने तर्फ सङ्केत गर्दै आयोगले चौधरीलाई महाधिवेशन आयोजक समितिको संयोजक बनाउने केन्द्रीय समितिको निर्णयको वैधानिकतामा समेत प्रश्न उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्