नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै, शेख र जोरा बाहिर हुने सम्भावना !



cricket_live

काठमाडौँ । नेपालले त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत आज आफ्नो  दोस्रो खेलमा नेदरल्यान्ड्ससँग खेल्दै छ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ ।

पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपाललाई आजको खेल जित्नुपर्ने दबाब रहन्छ । अन्यथा अन्तिम दुई जितसँगै नेटरनरेटमा पनि भर पर्नुपर्ने हुनसक्छ ।

पहिलो खेलमा नेपालविरुद्ध नामिबियाले टस जितेर ब्याटिङ रोज्दै ४ विकेटको क्षतिमा २०६ रन बनाएको थियो । जान निकोल लोफ्टी एटनले ३६ बलमा १०१ रनको कीर्तिमानी शतकीय इनिङ खेलेका थिए । उनले ३३ बलमै शतक हान्दै टी-२० आई इतिहासकै छिटो १ सय रन पूरा गरेका थिए । कुशल मल्ललको ३४ बलको कीर्तिमान तोडेका थिए ।

नेपालले आज टोलीमा दुई परिवर्तन गर्ने बलियो सम्भावना छ । अनिल शाह र ललित राजवंशीलाई मौका दिने देखिन्छ । अनिललाई ब्याटिङ र ललितलाई स्पिन बलिङ मजबुत बनाउन मौका दिने देखिन्छ । यी दुई खेलाडीलाई मौका दिँदा नामिबियाविरुद्ध ६ रनमा आउट भएका आसिफ शेख र ५ रन जोडेका सन्दीप जोरा बाहिर हुने देखिन्छ । टोलीमा अन्य परिवर्तनको सम्भावना भने कम छ । भूर्तेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख खेलाडी हुन् ।

नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म टी-२० आई खेलमा ९ खेल भएका छन् । समान ४ खेलमा जित र हार नेपालले व्यहोरेको छ । एक खेल वर्षाको कारण रद्द भएको थियो । पछिल्लो पटक नेदरल्यान्ड्स र नेपालबिच टीयुमा त्रिकोणात्मक सिरिजमा २०२१ मा तीन खेल भएका थिए ।

नेपाल फाइनलसहित दुई खेलमा विजयी भएको थियो । बास डि लिडेले ८१ रनको अविजित इनिङ खेलेपछि २०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्