चितवन बालिका मृत्यु प्रकरण : तत्काल छात्रावास अनुगमन गर्न माग 



चितवन बालिका मृत्यु प्रकरण

 काठमाडौँ । चितवनकी १३ वर्षीया बालिकाको मृत्यु घटनाबारे आइतबार संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल भएको छ । छलफलमा समितिका सांसदहरूले घटनाको छानबिनमा शिक्षा मन्त्रालयले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने माग समेत राखेका छन् ।

सांसद विद्या भट्टराईले विद्यालयको छात्रावास व्यवस्थापन अनुगमन गर्ने दायित्व शिक्षा मन्त्रालयको भएकोले तत्काल समिति बनाई अनुगमन गर्नुपर्ने माग राखेकी हुन् । सो घटनामा मन्त्रालयले समितिमार्फत छानबिन गर्नुपर्ने उनले बताइन् ।

सांसद तोसिमा कार्कीले देशभरका अन्य छात्रावासको समेत मापदण्डबारे तत्काल अनुगमन गर्नुपर्ने बताइन् । पूर्वशिक्षामन्त्री तथा सांसद देवेन्द्र पौडेलले घटनाको गम्भीर छानबिनका लागि समितिले सरकारलाई निर्देशन दिनुपर्ने बताए ।

गत फागुन १२ गते चितवनको रत्ननगर नगरपालिका–१ स्थित एकता शिशु निकेतन विद्यालयको कक्षा ८ की बालिका विद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्