सत्तारुढ गठबन्धनको बैठक बस्दै



सत्तारुढ गठबन्धन

काठमाडौँ ।  सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ । बिहान आठ बजे प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन दलका शीर्ष नेताहरू भेला हुन लागेका हुन् । सत्ता गठबन्धनका दलहरूबिच समसामयिक परिस्थितिमा छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

यद्यपि बैठकमा मन्त्री हेरफेर, राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार, सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयक लगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्ड अहिलेका मन्त्रीहरूको कार्यसम्पादनमा असन्तुष्ट रहेकाले मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने पक्षमा छन् ।  परराष्ट्र मन्त्री एनपी साउदको अन्तिम समयमा रद्द भएको फिनल्याण्ड भ्रमण र काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना पार्टीबाट मन्त्री बनेकाहरुसँग गरेको छलफललाई मन्त्रिपरिषद् हेरफेरको पूर्वसंकेतको रुपमा हेरिएको छ ।

गठबन्धनको बैठकमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारको विषयमा पनि छलफल हुने छ । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन यही फागुन २९ गते हुने कार्यतालिका छ । राष्ट्रिय सभा अध्यक्षमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले दाबी गरेका छन् ।

यसै गरी सत्ता गठबन्धनका शीर्ष नेताहरूबिच बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ ।

विधेयकसम्बन्धी समितिको मस्यौदा प्रतिवेदनलाई आइतबार नै कानुन समितिको बैठकबाट पास गर्ने तयारी थियो । तर कानुन मन्त्री धनराज गुरुङले दलहरूबिच सहमति जुटाउनका लागि केही समय मागेपछि बैठक स्थगित गरिएको थियो

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेस, एमाले, रास्वपासहितको नेतृत्व र प्रधानसेनापति प्रभुराम शर्मासँग आइतबार छुट्टाछुट्टै छलफल समेत गरेका थिए । विधेयकसम्बन्धी समितिको मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न कानुन समितिको बैठक सोमबार बिहान पुनः बस्दै छ ।

प्रतिक्रिया दिनुहोस्