शाहबाजले लिए पाकिस्तानको २४औँ प्रधानमन्त्रीका रूपमा शपथ



काठमाडौँ । शाहबाज सरिफले पाकिस्तानको २४औँ प्रधानमन्त्रीका रूपमा शपथग्रहण गरेका छन् । त्यहाँको राष्ट्रपति भवनमा सोमबार आयोजित एक समारोहमा उनले शपथ लिएका हुन् ।

कार्यवाहक प्रधानमन्त्री अनवर उल हक कक्कड, सिनेटका अध्यक्ष सादिक सन्जरानी, सेनाप्रमुख, राजनीतिज्ञ र राजदूतहरूको उपस्थितिमा राष्ट्रपति आरिफ अल्वीले नवनिर्वाचित प्रधानमन्त्रीलाई पद तथा गोपनीयताको शपथग्रहण गराए ।

यसअघि, आइतबार पाकिस्तान मुस्लिम लिग–नवाजका अध्यक्ष सरिफले ३३६ सदस्यीय राष्ट्रियसभामा २०१ मत प्राप्त गरेका थिए । आफ्नो पार्टीले पाकिस्तान पिपुल्स पार्टी संसदीय दल, मुत्ताहिदा कौमी मुभमेन्ट–पाकिस्तान र अरूसँग गठबन्धन गरेपछि सरिफ सत्तामा आएका हुन् ।

सांसदहरूले उनलाई देशको प्रमुख कार्यकारी पदका निम्ति उम्मेदवारका रूपमा मनोनयन गरेका थिए । आइतबार प्रधानमन्त्रीमा निर्वाचित भएपछि राष्ट्रियसभामा आफ्नो पहिलो सम्बोधनमा सरिफले देशको विकासका निम्ति कर प्रणालीमा सुधार, स्वतन्त्र व्यापार र निर्यात क्षेत्र स्थापनालगायत आर्थिक सुधारमा ध्यान दिने बताए । प्रधानमन्त्रीले आफ्नो सरकारले देशको विकासका निम्ति चीन–पाकिस्तान आर्थिक कोरिडोरको विस्तार र प्रवर्द्धन गर्ने बताए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्