भीआईपी कल्चर अन्त्य हुनुपर्छ : रवि लामिछाने



रवि लामिछाने

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले भीआईपी कल्चर अन्त्य हुनुपर्ने बताएका छन् । आइतबार प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि देशभरका जिल्ला प्रहरी प्रमुख र प्रदेशका डीआईजीहरुलाई भिडियो कन्फेरेन्समा लामिछानेले भने– ‘मलाई पनि एउटा पिएसओ मात्र दिए पुग्छ, भीआईपी संस्कार अन्त्य गर्नुपर्छ ।’

प्रहरीमा सरुवा र बढुवा हुन ‘धाउनुपर्ने’ व्यवस्थाको अन्त्य गरिने मन्त्री लामिछानेले उद्घोष गरेका छन् । वर्तमान आईजीपी वसन्त कुँवरलाई आफू पहिलो पटक गृहमन्त्री हुँदा भनसुन बिना नै मधेश प्रदेशको प्रमुख बनाएको उल्लेख गर्दै लामिछानेले भने, ‘सरुवा र बढुवाका लागि सचिव र मन्त्रीको ढोका चहार्ने प्रथा अन्त्य गर्छु ।’

प्रहरी अधिकृतहरू निजी फाइदाका लागी आफूकहाँ आएमा ढोका बन्द गरिने बताउँदै उनले भने,  ‘मेरोमा सोर्स फोर्स लाउन आउनेका लागि ढोका बन्द हुन्छ ।’

लामिछानेले भने, ‘आइजिपी साव’ले आफ्नो अधिकार कसैलाई नबुझाउनुस्, म बाट कुनै हस्तक्षेप हुँदैन ।’ सरकारको आयुसँग आफूलाई मतलब नभएको लामिछानेले बताएका छन् । ‘जत्ति दिन टिक्छु केही गर्ने इच्छा छ । मेरो अघिल्लो कार्यकालको योजनाअनुसार काम गर्छु ।’

आईजीपी वसन्त कुँवरलाई सरुवा बढुवा समयमा गर्न निर्देशन दिँदै मन्त्री लामिछानेले ३० वर्षे सेवा अवधि हट्नुपर्ने बताए । उनले भने, ‘३० वर्षेका लागि कसै न कसैले सेक्रिफाइस गर्नैपर्छ ।’

कानुन संशोधन गरेर प्रहरी समायोजन गर्ने उल्लेख गर्दै लामिछानेले जवान, हवल्दार र जुनियर प्रहरी अधिकृतहरूका लागि १६ वर्षे र १८ वर्षे पेन्सन अवधि लागू गर्न आफू दृढ रहेको बताए । उनले भने– ‘१६ र १८ वर्षमा पेन्सन पाउने व्यवस्था हुन्छ, त्यो मेरो लक्ष्य हो ।’

प्रतिक्रिया दिनुहोस्