निजामती सेवा विधेयक संसद्मा पेस



निजामती सेवा विधेयक

काठमाडौँ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० प्रतिनिधि सभामा पेस भएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती विधेयक पेस गरेका हुन् ।

प्रतिनिधि सभा नियमावलीको नियम १०७ अनुसार अबको विधेयक प्रतिनिधि सभाको अर्को बैठकमा विधेयकमाथिको सामान्य छलफल हुने छ ।  विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सभामा छलफल भएर अगाडि बढेपछि सांसदहरूले संशोधन दर्ता गर्न सक्छन् । सांसदहरूको संशोधन समेत राखेर विधेयकमाथि दफावार छलफल हुनेछ ।

यो विधेयकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना राखेका थिए । त्यस क्रममा सांसद सुवालले उठाएका प्रश्नहरुको जवाफ दिँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री जोशीले सङ्घीयता कार्यान्वयनका लागि समेत यो विधेयक आवश्यक रहेको बताए । प्रदेश र स्थानीय सरकारमा कर्मचारी व्यवस्थापन गर्न यो विधेयक आवश्यक रहेको मन्त्री जोशीको भनाइ रहेको छ ।

राज्यको पुनर्संरचना सँगसँगै प्रशासनिक पुनर्संरचनाका लागि यो विधेयक ल्याउनु आवश्यक रहेको जोशीले बताए । यो विधेयक प्रतिनिधि सभामा गत फागुन २१ गते दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्