एउटा राजा पाल्न मुस्किल जनताको थाप्लोमा हजारौँ राजाको बोझ, राजतन्त्र हटेपछि जनताको अवस्था झन्झन् नाजुक !



अनुषा थापा, भक्तपुर । सात राजनीतिक दल मिलेर २०६२–६३ सालमा १९ दिने आन्दोलन गरियो । आन्दोलन गर्नुको कारण थियो: राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते लिएको सत्ता फिर्ता दिनुपर्ने । त्योबाहेक अन्य कुनै माग राजनीतिक दलको थिएन । ‘जनताको नासो, जनतालाई नै फिर्ता’ दिनुपर्छ भनेर उनीहरू सडक सङ्घर्षमा उत्रिएका थिए  ।

सो आन्दोलनपछि राजाले खोसेको अधिकार फिर्ता दिए । विघटन गरेको संसद् व्यूताइदिए । २०६३ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । उनको जङ्गलमा बसेको माओवादीलाई वार्तामा ल्याए । गिरिजाले भने,‘जनतामा जाऔँ, जनताले जे निर्णय गर्छन् त्यही स्वीकार्औं ।’  २०६५ जेठ १५ गते राजाले जनताको नासो, जनतालाई फिर्ता दिँदा सात दलले राजतन्त्र र हिन्दु राज्य हटाउने, लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउने, नेपाललाई सात प्रदेशमा बाँड्ने भनेका थिएनन् । यो हुन्छ भन्ने जनताले कल्पना पनि गरेका थिएनन् । माओवादी जनयुद्धको नेतृत्व गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०६४ चैत २८ गते भएको संविधान सभाको चुनावमा गए ।

१२१ निर्वाचन क्षेत्रबाट माओवादीले प्रत्यक्ष जित्यो । गिरिजाप्रसादलाई राष्ट्रपति दिने ‘ललिपप’ देखाएर राजतन्त्र हटाउने र राजालाई नागार्जुनको जङ्गल लखेट्ने निर्णय सदनबाट बहुमतका साथ पारित गरियो । राष्ट्रपति पाउने धोकोमा रहेका गिरिजाप्रसादले धोका पाए । उनले राष्ट्रपति नै दिएनन् ।

पहिलो संविधान सभाको चुनावबाट संविधान बनेन । दोस्रो संविधान सभाको चुनावबाट मात्रै संविधान आयो । २०७२ असोज ३ गते नेपालको संविधान बन्यो । १९ दिने आन्दोलनमा साथ दिनुपछाडि जनताको कुनै ठुलो चाहना थिएन । उनीहरूले त आफ्नो अधिकार मात्र मागेका थिए ।

नेताहरूले त जनतालाई झुक्काए । त्यत्रो आन्दोलन भयो, तर त्यसको उपलब्धि के भयो रु नेताहरूले आफ्नो राजनीतिक सिद्धान्त, विचार सबै प्रचण्डलाई लगेर बुझाएका छन् । प्रचण्डले जे भन्यो तिनले त्यही गर्छन् । सात राजनीतिक पार्टीको विश्वासले गर्दा राजा ज्ञानेन्द्र दरबार छोडेर नागार्जुनमा पुग्नुपर्‍यो ।

प्रचण्डले सबै पार्टीलाई घुमाएर आफ्नो स्वार्थ पूरा गरेका छन् । केही दिनअघि काँग्रेसको कार्यसमितिको बैठकमा एक जना नेताले हिन्दु राज्य चाहिन्छ भनी कुरा उठाए । त्यो कुरा उठ्ने बित्तिकै प्रचण्ड झस्किए । हिन्दु राज्यको नाम लिने बित्तिकै राजा पनि चाहिन्छ भन्ने हुन् भनी उनी तर्सिए ।

त्यस बेला राजासँग वार्ता गर्दा त देशबाट राजतन्त्र हटाउने उल्लेख थिएन । न हिन्दु व्यवस्था नै हटाउने भनिएको छ । पूर्व राजा ज्ञानेन्द्रले कहिलेकहीँ यो कुरा उठाइरहेका हुन्छन् । राजनीतिक दलहरूले धोका दिए, मैले त्यो सम्झौता सम्हालेर राखेको छु भनिरहेका हुन्छन् । देशमा लोकतन्त्र आएपछि राजनीतिक दलहरू मनमौजी भए ।

नाम जनताको, फाइदा नेता र तिनका कार्यकर्ताको । पहिले एउटा राजा थिए, अहिले हजारौँ भएका छन् । जसका कारण जनता निराश बनेका छन् । नेताहरू व्यक्तिगत स्वार्थमा रमाउँदा पुनः राजाकै माग गर्न थालिएको छ । सङ्घीयताको नाममा राज्यलाई आर्थिक भार पार्ने काम मात्रै भएको छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले त पहिल्यै सङ्घीयता हुँदैन भनेका थिए । तर, कसैले सुनेनन् । प्रदेश आफ्नो कार्यकर्ता पोस्ने थलो बनेको छ । हाम्रोजस्तो सानो भूभाग र अर्थतन्त्र भएको देशलाई किन सङ्घीयता चाहियो ?  गाउँ गाउँमा सिंहदरबार भनिएको छ, तर काम कतैबाट हुने होइन ।

एउटा सानो काम लिएर पनि केन्द्र धाउनुपरेको छ । फोगटको जनताले तिरेको कर खेर मात्र गइरहेको छ । अवस्था कस्तो बनिसक्यो कि राजाप्रति जनताको आस्था पुन पलाउन थालेको छ । कहीकतै राजा जाँदा जनताको भीड देखिन्छ । ‘राजा आऊ, देश बचाऊ’ सम्मको नारा घन्किसकेको छ ।

यो अवस्था किन आयो त रु नेताहरूको कारणले होइन ?  त्यत्रो सङ्घर्ष गरेर ल्याइएको यो व्यवस्थाबाट जनताले के पाए रु मेडिकल माफिया दुर्गा प्रसाईँले पनि राजतन्त्रको लागि आन्दोलन गरे । उनको आन्दोलनमा धेरैले साथ दिए । राजा हट्ने बेलामा अधिकांशले उनले देश छोड्ने अनुमान लगाएका थिए ।

तर, उनले देश छोडेनन् । बरु, नागार्जुनको जङ्गलमा गएर बसे, अहिले पनि बसिरहेका छन् । वर्तमान नेताहरू एक मिनेट पनि कुर्सी छोडेर बस्न सक्दैनन् । सत्ताको लागि यताउता टाँसिने काम जारी नै छ । सरकारबाहिर बस्नुपर्दा नेताहरूको सातो जान्छ । राजा त १५ वर्षदेखि दरबार बाहिर छन् ।

जङ्गलमा बसेका छन् भने उनीसँग धैर्य गर्न सक्ने शक्ति कति रहेछ, यहीबाट मूल्याङ्कन गर्दा हुन्छ । केही महिनाअघि राजाले एउटा कार्यक्रममा भने,‘मलाई दरबारबाट हटाए पनि म नेपालमै छु । देशको राजनीति मैले नजिकबाट नियालिरहेको छु ।’ प्रचण्डको काम जालझेल गर्ने मात्र हो ।

काँग्रेसलाई प्रचण्डले भर्‍याङ मात्र बनाएका हुन् । प्रचण्ड यहाँसम्म आउनुमा काँग्रेसको ठुलो भूमिका छ । काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले केही दिनअघि बोलेको कुरा अहिले निकै चर्चित छ । उनले भने,‘जङ्गलीलाई हामीले यहाँसम्म ल्याऔँ । पहिले गिरिजालाई र अहिले हामीलाई धोका दियौँ । यसको बदला हामी लिएर छोड्छौँ ।’

उनले बोलेको कुरा समग्र काँग्रेसको हो । माओवादीको काम र प्रचण्डको व्यवहारबाट जनता आजित भइसकेका छन् । माओवादी सकिने देखिएको छ । प्रचण्डले सिद्धाउन खोजेका अरूलाई हो, तर आफैँ सिद्धिए । पार्टीको पनि पतन भयो । माओवादीलाई जनताले विश्वास गर्दैनन् ।

न राजनीतिक पार्टीले प्रचण्डमाथि भरोसा गर्छन् । छेपारोले रङ्ग फेरेभन्दा छिटो उनले गठबन्धन फेर्छन् । १० वर्ष जनयुद्धको नेतृत्व गरेको पार्टी यति छिटै जनताबाट नङ्गिन्छ भन्ने कुरा कसैले सोचेको पनि थिएन । माओवादी यसरी पत्ता साफ हुन्छ भन्ने परिकल्पनासमेत गरिएको थिएन ।

जालझेल गर्ने, अरूलाई धोका दिने, आफू सत्तामा पुग्ने तर काम केही नगर्ने । प्रचण्ड कहिले एमालेसँग मिल्छन्, कहिले काङ्ग्रेससँग । उनले जनताका लागि होइन, आफ्नो लागि जनयुद्ध गरेका रहेछन् भन्ने त प्रस्ट भइसकेको छ । प्रचण्डमाथि जनताको धेरै अपेक्षा थियो, तर उनी त्यसमा उत्रिन सकेनन् ।

जनताको हितमा काम गर्नुपर्ने प्रचण्ड सधैँ आफ्नै परिवारभित्र अलमलिए । आफ्नो सन्तानलाई कसरी माथि ल्याउने रु मै उनको ध्यान केन्द्रित भयो । नैराश्य दिनहुँ बढ्दै छ । जनताले सरकारमाथि विश्वास गर्न सकेका छन् । विदेशीको अविश्वास बढिरहेको छ । देशमा केही छैन भन्नेहरूको लहर छ ।

जनताले सरकारसँग केही मागेका थिएनन् । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार यति त हो । तर, सरकारले जनतालाई आधारभूत अधिकारसमेत दिलाउन सकेन । गाउँ गाउँमा सिंहदरबारको नाममा जनताले थेग्नै नसक्ने गरी ऋणको भारी बोकाइएको छ । एउटा कुखुरा पाले पनि कर तिर्नुपर्छ, अहिले ।

केन्द्रदेखि स्थानीय सरकारसम्म राजा छन् । वडाध्यक्ष, मेयरसमेत तलब भत्ता खान्छन्, सरकारी गाडी चढ्छन् । प्रदेशका सांसदहरूको त कुरै छोड्दिऔँ । २०६२–६३ सालसम्म विदेशी ऋण थिएन । अहिले २७ खर्ब विदेशी ऋण पुगिसकेको छ । महँगी, बेरोजगारी त्यस्तै बढेको छ ।

सबै नेपाली खाडी छिरिरहेका छन् । यहाँ रोजगारी नहुँदा नेपाली अर्काको देशमा भेडाबाख्राझैं बेचिएका छन् । कमाउन गएका नेपाली बाकसमा फर्किन्छन् । उनीहरूले घामपानी नभनीकन खटिएर पठाएको रेमिट्यान्सले जनप्रतिनिधिहरूले तलब भत्ता खाइरहेका छन् ।

जनता बाँच्नै नसक्ने अवस्थामा पुगेका छन् । जनताले यसका लागि त जनयुद्ध गरेका थिएनन् । १७ हजार नेपाली नेताहरूले खाउन् भनेर त सहिद भएका होइनन् । देश नाजुक अवस्थामा पुगिसकेको छ । छिमेकीले नेपाल लैजान्छ भनी चर्चा चल्न थालिसकेको छ । यो अवस्था किन आयो, नेताहरूले गरेर होइन ?  राजाले खायो भनेर नेताहरूले हटाएको होइनन् रु खोइ के भयो त परिवर्तन रु एउटा राजा  पाल्न मुस्किल पर्ने जनताको थाप्लोमा सयौँ राजाको बोझ छ ।

प्रतिक्रिया दिनुहोस्