सुन तस्करी : कसैलाई ऐन, कसैलाई चेन, फोनमा बोल्ने प्रहरी हिरासतमा हुँदा तस्बिर खिचाउने र नाम जोडिनेहरू बाहिरै !



अनुषा थापा, भक्तपुर । मङ्सिर १० र २१ गते दुई पटक गरेर भएको चुनावमा जनताले सबैभन्दा धेरै मत एमालेलाई दिए । फागुन ३ गते एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए । ओलीको बहुमतको सरकार थियो ।

तर, उनले काम गर्न सकेनन् । २०७७ पुस ५ गते उनले संसद् विघटन गरिदिए । अन्य राजनीतिक दल र सांसदहरूले संसद् विघटन भएपछि सर्वोच्च अदालत गुहारे । संसद् ब्युँताउनपर्छ भन्ने मागसहित सर्वोच्चमा रिट दायर गरियो । सर्वोच्चले विघटन गरेको संसद् ब्युँताइदियो ।

ओलीले २०७८ जेठ ८ गते पुनः संसद् विघटन गरिदिए । राजनीतिक दलहरू फेरि पनि अदालत पुगे । सर्वोच्चले असार २८ गते उनलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरिदियो । असार २९ गते नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भए । २०७४ सालमा चुनाव गराउने बेला पनि प्रधानमन्त्री देउवा नै थिए ।

२०७९ मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचित गराउने पनि उनी नै हुन् । ओलीले मङ्सिर ४ गतेको चुनावमा पनि आफ्नो पार्टी पहिलो हुने ठोकुवा गर्दै आएका थिए । २०७४ सालमा बहुमत पाउने बित्तिकै हत्तपत्त शपथ लिएका उनको पुनः प्रधानमन्त्री बन्ने सपना चक्काचुर भयो ।
अघिल्लो चुनावमा काँग्रेस पहिलो पार्टी बन्यो । जनताले सरकार बनाउने जिम्मा काँग्रेसलाई दिएका हुन् । काँग्रेसले प्रधानमन्त्री खान्छ भनेर सबै राजनीतिक दलले जालझेल गरे । नेकपा माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीको मिलेमतोले गर्दा अहिले काँग्रेस सरकार बाहिर छ ।

प्रचण्डले के गर्नु गरेनन् ? काँग्रेसले प्रधानमन्त्री नदिने भनेपछि उनी बालकोट पुगे । एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र रास्वपाको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भए । एमालेलाई धोका दिएर प्रचण्डले काँग्रेससँग गठबन्धन गर्‍यो । २०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरियो ।

काँग्रेसलाई धोका दिएर पुनः एमालेसँग नयाँ समीकरण बनाएका छन् । गत फागुन २१ गते काँग्रेसलाई निकालेर नयाँ गठबन्धन बनाइएको छ । अहिले रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री छन् । त्यस्तै, माओवादी नेता वर्षमान पुन अर्थमन्त्री छन् । यी दुईटै नेता विभिन्न काण्डमा मुछिएका छन् ।

रवि राजनीतिमा प्रवेश गरेदेखि नै विवादित छन् । कहिले दोहोरो नागरिकता त कहिले के । अहिले उनीमाथि सहकारी ठगीको आरोप छ । जीबी राईसँग मिलेर बचतकर्ताको करोडौं रुपैयाँ अपचलन गरेको आरोप लागेका व्यक्तिलाई प्रचण्डले गृहजस्तो महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

यता, पुन र उनकी श्रीमती अन्सारी घर्ती सुन काण्डमा मुछिएका छन् । केही समयअघि सुन तस्करीको आरोपमा पक्राउ परेकासँग उनीहरूले खाना खाएको तस्बिर सार्वजनिक भएको थियो । आरोप नै आरोपले घेरिएको व्यक्तिलाई देशको मन्त्रीको जिम्मेवारी दिन मिल्छ रु सत्ता जोगाउनका लागि नैतिकता नै बिर्सिदिने ?

सहकारीका बचतकर्ताहरू अहिले निकै पीडामा छन् । आफ्नो जीवनभरको कमाइ सहकारीले हिनामिना गरेको छ । केही दिनअघि पोखरामा भएको एउटा कार्यक्रममा पीडित बचतकर्ताले रविमाथि छानबिन गर्न भन्दै प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाए । रविविरुद्ध प्रतिनिधि सभा, सहकारी विभाग, प्रहरीलगायत विभिन्न निकायमा उजुरी परिसकेको छ ।

निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठले लामिछानेमाथि छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरोलाई निर्देशनसमेत दिइसकेका थिए । माओवादीका उपाध्यक्ष एवं वरिष्ठ नेता कृष्णबहादुर महरा अहिले प्रहरी हिरासतमा छन् । सुन तस्करसँग फोन गरेको आरोपमा उनलाई समातियो ।

उनले सुन तस्करसँग पैसा लिएको, खाना खाएको केही प्रमाण भेटिएको छैन । फोन गरेकै आधारमा समातेको हो । वर्षमान पुन, अन्सारी घर्ती र पुनका भाइको सुन तस्करसँग खाना खाएको फोटो नै सार्वजनिक भएको थियो । अनि तिनलाई चाहिँ किन नसमातेको रु सबैले छर्लङ्ग देखेकालाई बचाउन खोज्ने, कल डिटेलमा नाम देखिएकोलाई समात्ने ?

महराको छोरा सुन काण्डमा जेलमा छन् । गल्ती गर्ने जोसुकै होस्, कारबाही हुनुपर्छ । तर, कसैलाई जोगाउने र कसैलाई फसाउने कार्यचाहिँ कोहीबाट पनि हुनुभएन । सुन तस्करीमा त पुन, उनका भाइ र घर्तीको नाम जोडिएको हो नि । तर, तीनै जना बाहिर छन् । पुन देशको अर्थमन्त्री छन् ।

माओवादी सरकारमा गएपछि सबैभन्दा धेरै फाइदा उठाउने पुन र उनकी श्रीमती घर्ती हुन् । यो कुरा माओवादीका नेता र सर्वसाधारणलाई राम्रोसँग थाहा छ । प्रचण्डसँग नजिक भएर उनीहरूले फाइदा उठाउँदै आएका छन् । पुन र घर्ती पटक पटक मन्त्री भए । घर्ती त सभामुख पनि भइन् ।

हरेक चुनावमा उनीहरूले टिकट पाउँछन् । ‘अरूलाई मारेर’ प्रचण्डले उनीहरूलाई पोस्दै आएका छन् । सुन तस्करीमा साँच्नै नै समात्ने हो भने पुन, घर्ती र तिनको भाइलाई समात । कसैलाई जोगाउने काम यहाँ नहोस् । गृहमन्त्री लामिछानेले केही दिनअघि प्रहरीका आइजिपी वसन्तबहादुर कुँवर र गृह सचिव एकनारायण अर्याललाई सामुन्ने राखेर महरालाई समात्न निर्देशन दिए ।

उनले नामै किटेर निर्देशन दिएका हुन् । शोक परेको ठाउँमा जान लागेको व्यक्तिलाई बिच बाटोबाटै समातेर ल्याइयो । कुनै ठुलै र वर्षौँदेखि फरार ‘नामुद अपराधी’ लाई जसरी उनलाई पक्राउ गरेर काठमाडौँ ल्याइयो । उनी देश छोडेर भाग्छन् जस्तो गरेर प्रहरीले समात्यो ।

जबकि उनको छोरा आफैँ प्रहरीमा आत्मसमर्पण गर्न पुगेका थिए । भगाउने भए त उनले छोरालाई भगाउँथेँ होला नि । महरा पटक पटक मन्त्री भइसकेको व्यक्ति हुन् । उनी सभामुखको भूमिका पनि निर्वाह गरिसकेँ । हिजो जनयुद्ध सकाएर वार्ता गर्ने क्रममा उनी पनि थिए । देशको त्यत्रो ओहोदामा पुगेका व्यक्ति भागेर जाऊन् पनि कहाँ ?

महरा सभामुख हुँदा केपी र प्रचण्ड सँगै थिए । तर, उनी केटी काण्डमा परे, जेल गए । पछि  अदालतले उनलाई सफाइ दियो । महरालाई देशभरको जनताले विद्धान नेता भन्छन् । जो केटी काण्डमा पर्ने बित्तिकै सभामुख पदबाट राजीनामा दिएर प्रहरी हिरासतमा गए, सुन काण्डमा छोरालाई आत्मसमर्पण गर्न पठाए, ऊ भाग्न लागेको थियो भन्न अलि नसुहाउँला ।

पूर्व प्रहरी सर्वेन्द्र खनालमाथि पनि सुन काण्डमा पटक पटक नाम जोडिसकेको छ । उनलाई समात्न लामिछानेले किन निर्देशन दिएनन् रु कि चर्चामा आउने र लोकप्रियता कमाउने खेल मात्रै हो रु खनाल एमालेको नेता हो भन्ने सबैलाई थाहा छ । मङ्सिर ४ मा भएको निर्वाचनमा उनी काठमाडौँ क्षेत्र नम्बर ६ बाट चुनाव लडेका थिए ।

गत वैशाख १० गते भएको उपनिर्वाचनमा पनि उनी तनहुँमा उठे । महरा सभामुख हुँदा ओलीले एमसीसी सदनमा प्रस्तुत गर्न पटक पटक दबाब दिए । तर, उनले मानेनन् । देश खतरामा पर्छ भनेर महरा पछि हटे । त्यस लगत्तै उनीमाथि केटी काण्डको आरोप लागिहाल्यो । उनी जेल गए, सभामुख पद चिप्लियो ।

२०७८ फागुन १६ गते सदनबाट एमसीसी पारित भयो । फागुन २० गतेभन्दा अगाडि गृहमन्त्री नारायणकाजी श्रेष्ठ थिए । महराले श्रेष्ठ गृहमन्त्री हुँदा सीआईबीमा गएर बयान पनि दिएका थिए । प्रचण्डले काँग्रेससँग समीकरण तोडेर एमालेसँग जोडेपछि श्रेष्ठ गृहमन्त्री माग्दै ओलीकहाँ पुगे ।

तर, ओलीले लामिछानेलाई गृहमन्त्री बनाइदिए । लामिछाने गृहमन्त्री भएर आउने बित्तिकै महरा समातिए । यो घटनाबाट षडयन्त्र गर्नेहरू देखिहालेका छन् । महरा जहिले पनि निशानामा पर्दो रहेछन् । अरूलाई उम्काउने, उनलाई फसाउने । कानुन सबैका लागि बराबर हुन्छ ।

यद्यपि, एउटालाई जोगाएर अर्कोलाई फसाउने काम भइरहेको छ । आरोपित व्यक्ति नै सरकारको अहम् पदमा छन् । उनीहरू आफूमाथि लागेको आरोप कोट्याउँदैनन् । लामिछाने आफैँ पनि दूधले धोएका छैनन् । गम्भीर–गम्भीर आरोप उनीमाथि लागेको छ । विडम्बना, हरेक पटक जोगिन्छन् । महरालाई तत्काल समाउन आदेश दिन सक्ने व्यक्तिले अरूलाई पक्राउ गर्न सक्दैनन् ?

प्रतिक्रिया दिनुहोस्