प्रधानमन्त्रीलाई सुरुङभित्रै सोफा र रातो कार्पेट 



काठमाडौँ । करिब ५३ महिनापछि हुन लागेको नागढुंगा–सिस्नेखोला सुरूङमार्ग ‘ब्रेक थ्रु’को प्रत्यक्ष अवलोकन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यहाँ पूगेका छन् । छन् । उनलाई सुरुङभित्रै रातो कार्पेट ओछ्याएर स्वागत गरिएको छ ।  अवलोकनमा  भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ पनि सहभागी थिए । उनीहरूलाई सोफामा बस्ने व्यवस्था मिलाइएको छ ।

मुख्य सुरुङ सोमबार मात्र वारपार छेड्न लागिए पनि त्योसँगैको आपत्कालीन सुरुङ भने गत साउन २२ गते नै छेडिएको थियो । मुख्य सुरुङ २.६८८ किलोमिटरको छ । आपत्कालीन सुरुङ २.५५७ किलोमिटर लामो छ ।

यो सुरुङमार्ग प्रयोगकर्ता काठमाडौँको बलम्बु हुँदै धादिङको सिस्नेखोलासम्म ३ मिनेटमै आउ–जाउ गर्न सक्ने आयोजनाले जनाएको छ । आपत्कालीन सुरुङबाट मुख्य सुरुङमा आउ–जाउ गर्न मिल्ने सात वटा ढोका छन् । मुख्य सुरुङमा भइपरी आउने समस्यामा उद्धार लगायतका काम गर्न भन्दै आपत्कालीन सुरुङ निर्माण गरिएको हो ।

यो सुरुङ मार्ग हाजमा आन्दो कर्पोरेसन जापानले बनाइरहेको छ । मुख्य सुरुङ ब्रेक थ्रु भएपछि त्यसभित्र बिजुली जडान, अक्सिजन आपूर्तिको व्यवस्था, सडक ढलान लगायतका काम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्