सेमिफाइनलमा आज नेपालले युएईसँग  खेल्दै



काठमाडौँ । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा आज युएईसँग खेल्दै छ । खेल नेपाली समय अनुसार मध्याह्न ११ः४५ मा अलअमरेत क्रिकेट ग्राउन्ड १ मा हुनेछ ।

नेपाल समूह ‘ए’ बाट ४ खेलमा ८ अङ्कका साथ शीर्ष स्थानमा तथा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अङ्कका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो । नेपालको रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन् ।

नेपालले समूह चरणमा मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र साउदी अरेवियालाई ६ विकेटले हराएको थियो । युएईले कुवेतलाई ७ विकेट, बहराइनलाई ३७ रन र कम्बोडियालाई ९ विकेटले हराएको थियो । ओमानसँग युएई ९ विकेटले हारेको थियो ।

नेपाल २०२२ फेब्रुअरीमा यही मैदानमा आईसीसी टी–२० विश्वकप छनोट ए को सेमिफाइनल खेलमा युएईसँग ६८ रनले पराजित हुँदै बाहिरिएको थियो ।

हेड टु हेड

नेपाल र युएईबीच ९ टी–२० आई खेल भएका छन् । नेपाल ५ मा जित र ४ मा पराजित भएको छ ।आज वर्षाले खेलमा असर नपार्ने देखिन्छ । प्रतियोगिता विजेताले टी–२० एसिया कप र शीर्ष तीन टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । दोस्रो सेमिफाइनल खेलमा आज हङकङ र ओमानबीच प्रतिस्पर्धा हुनेछ । फाइनल आइतबार हुनेछ । तेस्रो स्थानका लागि शनिबार खेल हुनेछ ।

नेपालको टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी र अभिनाश बोहरा ।

यूएईको टोली : मोहम्मद वासिम (कप्तान), आयन खान, एलिशान शराफु, अली नासिर, आसिफ खान, बासिल हामिद, जुनैद सिद्दिक, मोहम्मद फारुक, मोहम्मद हैदर शाह, ओमैद रहमान, राहुल भाटिया, राजा अकिफ, टानिश सुरी र विष्णु सुकुमारान ।

प्रतिक्रिया दिनुहोस्