पीएसजीबाट अन्तिम उपाधि उचाल्न आतुर एमबाप्पे



काठमाडौँ। पछिल्ला दुई लिग खेल गुमाएका केलियन एमबाप्पेले शनिबार फ्रेन्च कपको फाइनलमा लियोनविरुद्ध पेरिस सेन्ट जर्मेन (पीएसजी) को जर्सीमा अन्तिम खेल खेल्ने छन्। स्पेनिस क्लब रियल मड्रिडमा आबद्ध हुने चर्चा चलिरहेका स्ट्राइकरलाई प्रशिक्षक लुइस एनरिकेले गत साता आराम दिएका थिए। उनले खाली समयमा कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाएका थिए।

गत फेब्रुअरीमा एमबाप्पेले सिजनको अन्त्यमा क्लब छोड्ने बताएका थिए। पछिल्लो तीन महिनामा एनरिकेले पीएसजीलाई एमबाप्पेमा कम निर्भर बनाउने प्रयास गरेका छन्।

अर्को सिजन एमबाप्पे पीएसजीसँग नरहने भएका कारण उनको स्थान लिने खेलाडीको बारेमा सोच्न शुरू गर्न आवश्यक रहेको एनरिकेले तर्क गरेका छन्।

लिलको स्टेड पियरे माउरोयमा शनिबार हुने फाइनलका लागि एनरिकेले आफ्नो प्रारम्भिक ११ को निर्णय गर्न बाँकी छ। तर, उक्त खेल एमबाप्पेको अन्तिम भएको कारण एनरिके सायद उनलाई बेन्चमा राख्न चाहदैनन्।

२५६ गोल गरेका एमबाप्पे क्लबका सर्वाधिक गोलकर्ता हुन्। उनले पीएसजीबाट ६ लिग वान र ३ फ्रेन्च कप जितेका छन्।

यद्यपि, ७ सिजन पेरिस क्लबमा बिताएका उनले च्याम्पियन्स लिगको ट्रफी भने जित्न सकेनन्। यद्यपि, उनले पीएसजीलाई युरोपको शीर्ष क्लब बनाउन ठूलो योगदान दिएका छन्।

पीएसजीको जर्सीमा उपाधि जित्दै उनले फ्रान्स छाड्ने अपेक्षा गरिएको छ। तर, एनरिकेले लियोनविरुद्धको खेलमा उत्कृष्ट खेलाडीलाई मात्रै मैदान उतार्ने बताएका छन्।

एमबाप्पेजस्तै उस्मान डेम्बेलेले पनि अन्तिम लिग चरणमा नाइस र मेट्जविरुद्ध खेलेका थिएनन्। तर, आर्सनलका पूर्वस्ट्राइकर अलेक्जेन्ड्रे लाकाजेटको नेतृत्वमा रहेको लियोनविरुद्धको खेलमा उनले पुनरागमन गर्नेछन्।

लियोन पछिल्लो महिनादेखि प्रभावशाली प्रदर्शन गर्दै आएको छ। एनरिकेले ५ पटकको कप विजेतालाई हल्का रूपमा लिएका छैनन्।

गत नोभेम्बरमा लियोन लिगको पुछारमा रहेको थियो। तर, पियरे सेज प्रशिक्षक नियुक्त भएदेखि टोली विजयी मेसिनमा परिणत भएको छ।

अर्को सिजनको युरोपियन च्यापियन्सिपमा स्थान बनाइसकेको लियोन सन् २०१२ पछि फ्रेन्च कप जित्ने लक्ष्यका साथ मैदान उत्रिने छ। लियोन वैकल्पिक खेलाडीको प्रदर्शनमा निर्भर रहेको छ। सेजको नियुक्तिपछि लियोनका वैकल्पिक खेलाडीले १८ गोल गरेका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्