‘कर्णालीका जडीबुटी पाठ्यक्रममा’



सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशको पानी, जल, जडीबुटी र पर्यटनजस्ता विषय पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएका छन् ।

 

सुर्खेतको वीरेन्द्रनगरमा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सुझाव संकलन गर्न आयोजित कार्यशालामा  मुख्यमन्त्री शाहीले अबको शिक्षा व्यवहारिक र सर्भसुलभ बनाउनु पर्नेमा जोड दिए । अहिलेको शिक्षा व्यवहारिक नभई घोगन्ते भएको भन्दै मुख्यमन्त्री शाहीले शिक्षा प्रणाली पनि समय सापेक्ष परिवर्तन हुन जरुरी रहेको बताएका हुन् ।

 

अहिलेको शिक्षा प्रणाली श्रमलाई सम्मान गर्ने खालको नभएको भन्दै श्रम र रोजगारसँग सम्बन्धित शिक्षा हुनुपर्ने उनको भनाई छ । कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले कर्णालीका १० वटै जिल्लाको सामाजिक, आर्थिक र भौतिक पक्षलाई अध्ययन गरी सोहीअनुरूप पाठ्यक्रम निर्माण गर्न टोलीलाई सुझाव दिए ।

 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालको शिक्षामा परिवर्तन गर्न भन्दै गत असारमा स्थापना गरेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले गएको ७ महिनादेखि सातवटै प्रदेशमा विज्ञहरूको सुझाव संकलन गरिरहेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका वरिष्ठ सदस्य श्यामकुमार श्रेष्ठले जानकारी दिए । सुझाव संकलनमा क्रममा कर्णालीका शैक्षिक संस्थाका प्रमुख, निजी शैक्षिक संस्थाका प्रमुख, शिक्षक, स्थानीय निकायका प्रमुखसँग छलफल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्