‘जग्गा बेचुवा’ महन्थ बैकुन्ठ फरार



जनकपुरधाम : जनकपुरका विवादास्पद महन्थ रत्नसागर मठका महन्थ बैकुन्ठ दास वैष्णवलाई पक्राउ पुर्जी जारी गरिएको छ ।   कीर्ते जालसाजी गरी मठमन्दिरको जग्गा बेचेको आरोपमा जनकपुरधामस्थित रतनसागर मठका महन्थ बैकुण्ठलाई पक्राउ पुर्जी जारी गरिएको हो ।

 

जिल्ला अदालत धनुषाले शुक्रबार नै दासलाई पक्राउ पुर्जी जारी गरेको भए पनि प्रहरीले हाल सम्म उनलाई पक्राउ गर्न सकेको छैन  । स्रोतका अनुसार महन्थ बैकुण्ठ हाल काठमाडौंमा आफन्तकहाँ लुकेर बसेका छन् । 

 

कीर्ते जालसाजी मुद्दामा बैकुण्ठको प्रियपात्र अशोककुमार शर्मालाई धनुषा प्रहरीले यस अघि नै पक्राउ गरिसकेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ को अढाई अर्बभन्दा बढी मूल्यबराबरको अढाई बिघा गुठी जमिनको कीर्ते जालसाजी गरी बैकुण्ठले मठको जग्गामा शर्मालाई मोही बनाएका छन् ।

 

कीर्ते जालसाजी मुद्दामा पक्राउ पर्ने सम्भावना बढेपछि उनी काठमाडौंमा पसेको अनुमान स्थानीयको छ । यता पक्राउको प्रक्रिया सुरु भएकै बेला उनले जानकी वृद्धाश्रमभन्दा उत्तरतर्फको जग्गा हालै बिक्री गरेका छन् ।

उनले बेचेको जग्गामा माटो पुर्ने कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्