जीवितको मृत्यु दर्ता बनाई जग्गाको नामसारी



जीवित रहेकी रौतहटको गरुडा नगरपालिका ९ की एक बृद्धाको वडा कार्यालयले मृत्युदर्ताको प्रमाण पत्र बनाइदिए पछि बृद्धाको नाममा रहेको जमिन अर्कैको नाममा बिक्री भएको छ ।

गरुडा नपा ९ रघुनाथपुरकी ७० बर्षिया परवतीया देवी जीवित रहेपनि मृत्यु भएको प्रमाण पत्र बनाएर जमिन नामसारी गरीएको हो ।

परवतिया देवीको २०७२ माघ १५ गते मृत्यु भएको भन्दै छोरा शंकर गोसाइले निवेदन दिएपछि २०७५ बैसाख १९ गते वडा अध्यक्ष राजेश सहनीले मृत्यु दर्ता बनाइदिन सिफारीस गरेका थिए ।

आफूहरू कार्वाहीमा पर्ने डरले परबतिया देवीको मृत्यु भैसकेको र घरमा भएकी बृद्धा सानीआमा भएको उनको परीवारका सदस्यहरू वताउछन ।

शनिवार दिउसो घर अगाडी आगनमा बसिरहेकी बृद्धा केही बोल्न खोज्दै थिइन तर परीवारका सदस्यहरूले बोल्न दिएनन ।

नौलो मानिस गाउमा आए पनि उनीहरूले शंकाको भावले हेर्ने गर्छन । ति बृद्धको फोटो खिच्न दिदैनन । ७० बर्षिया बृद्धाका बोली प्रस्ट छैन । हिडडुल गर्न सक्दीनन ।

परबतियादेवीका छोरा शंकर गोसाइ भन्छन ‘आमा मरीसकेकी छन, त्यसैले मृत्यु दर्ता बनाएको हो ।’

तर स्थानियबासी भने परवतिया देवी जीवित रहेको दावी गर्छन । उनीहरू घरमा भएकी बृद्धा हरीहर गोसाइको श्रीमती परवतिया देवी नै भएको बताउछन ।

बृद्धाको नाममा रहेको जमिन साहुले हडप्ने डरले उनीहरूले मृत्यु दर्ता बनाएर छोराको नाममा ल्याएको र त्यस पछि सर्लाही जिल्लामा रहेकी छोरीको नाममा नामसारी गरेको पाइएको छ

किर्तेगरी मृत्यु दर्ता बनाएको र खारेज पनि भएको थाहा पाएका छोराहरू शंकर र राजेन्द्र नया मानिस गाउमा जाने बितिक्कै डराउछन । परीवारका सदस्य तथा आफन्तहरू समेत खुलेर बोल्दैनन ।

आमाको मृत्यु दर्ता बनाएर ३ कठ्ठा ५ धुर , १४ धुर र १९ धुर जमिन छोराहरू शंकर र राजेन्द्र गोसाइले सर्लाहीको सुन्दरपुर की फुलझरी देवीको नाममा नामसारी गराएका छन ।

बहिनी संग तीन लाख ऋण लिएकाले आमाको नाममा रहेको जमिन बहिनीलाइ पास गरीदिएको शंकरको भनाइ छ ।

जीवीत व्यक्तिको मृत्युदार्ता बनाइदिएको भन्दै जिल्ला प्रशासन कायाृलयमा निवेदन परेपछि वडा कार्यालयले उक्त मृत्युदर्ताको प्रमाण पत्र खारेज गरेको जनाएको छ ।

वडा अध्यक्ष सहनीले मृत्यु भएको भनिएकी बृद्धाका छोराले निवेदन दिएको र चार जना व्यक्तिहरूको सहीछाप गराइ मुजुल्का समेत बनाएर पेश गरेकाले मृत्यु दर्ता प्रमाण पत्र सिफारीस गरेको बताएका छन ।

वडा अध्यक्ष सहनी आर्थिक प्रलोभनमा परेर यस्तो कार्यगरेको केही स्थानियको आरोप छ ।

वडा अध्यक्ष राजेश सहनीको सिफारिस रहेको दर्ता नंं ४७ रहेको उक्त मृत्यु दर्ताको प्रमाणपत्रमा वडा सचिव वासुदेव चौधरीले हस्ताक्षर गरेका छन । वडा सचिव चौधरीले मृत्युदर्ताको लागी छोरा बाटै निवेदन आएकाले बनाइदिएको बताएका छन ।

जीवित मानिसको मृत्यु दर्ता बनाउने काम आफु बाट भुलवस भएको स्वीकार्दै उक्त मृत्युदर्ता खारेज गरेको वडा अध्यक्ष सहनीले बताएका छन ।

झुकियाएर बनाएको नभइ आर्थिक प्रलोभनमा परी मृत्यु दर्ता बनाइदिएकाले वडा अध्यक्ष लाइ प्रचलित कानुन अनुसार कार्वाहीको माग राख्दै बिभिन्न निकायहरूमा रघुनाथपुरका युवा राजकुमार दासले उजुरी दिएका छन ।

जीवीत व्यक्तिलाइ मरेको भन्दै मृत्युदर्ता बनाएकोले कार्वाहीको माग गर्दै गृह मन्त्रालय , जिल्ला प्रशासन कार्यालय , गरुडा नगरपालिका तथा अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा उनले उजुरी दिएका छन ।

नगरपालिका तथा जिल्ला प्रशासन कार्यालयमा जेठ १७ गते जानकारी दिदा असार ३२ गते मात्रै खारेज गर्नुमा वडा अध्यक्ष सहनीको स्वार्थ रहेको स्थानिय युवा दासको तर्क छ ।

मृत्यु दर्ता बनाउनका लागी निवदन दिने छोरा शंकर गोसाइ पारवतिया देवीको छोरा हुन । परबतिया देवीको तीन जना छोरा मध्य कान्छो छोरा महेन्द्र गोसाइको मृत्यु भैसकेको छ ।

महेन्द्रको मृत्यु भएपछि उनले लिएको ऋण साहुलाइ नतिर्नका लागी जमिन अर्काको नाममा लगेको केही स्थानियको तर्क छ । महेन्द्रले २०६९ असार १७ गते गाउकै रामदयाल राय संग एक लाख ऋण लिएका थिए । अहिले साउब्याज हिसाव गर्दा करीव १० लाख पुगेको र साहुले जमिन हडप्ने डरले वडा अध्यक्ष लाइ प्रलोभनमा पारेर यसो गरेको हुनसक्ने बताइन्छ ।

मृत्यु भइसेकेका महेन्द्रका दाइ शंकरको अनुसार भाइले २० हजार ऋण लिएको तर एक लाखको कागज गराएका छन । लिएको २० हजार मध्य १६ हजार रुपैया फिर्ता गरेको समेत महेन्द्रकी श्रीमतीले दावी गरेकी छिन ।

प्रतिक्रिया दिनुहोस्