जिससकी एक्ली छोरी माताले दिइन् ओलीलाई  एक लाख डलर



काठमाडौं : प्रधानमन्त्री केपी ओलीले विवादास्पद एसिया प्यासिफिक समिटका सहभागी पाहुनासँग भेटवार्ता गरेका छन्। होटल सोल्टीमा उनीहरूसँग भेट गर्दै आफ्नो भाषणको सँगालो ‘माई भिजन’ समेत उनीहरूलाई प्रदान गरेका छन्। उनी ३ दिनदेखि होटल सोल्टीमा नै बसेर भेटवार्ता गरिरहेका छन्। सहजताका लागि भन्दै उनी त्यहीँ बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

 

प्रधानमन्त्री ओलीले पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानीसँगको भेटमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको शिखर सम्मेलनका लागि पहल गर्ने बताए। भेटमा उनले नेपालको शान्ति प्रक्रिया र सरकारले अघि सारेका समृद्धि योजनाबारे जानकारी गराएका थिए।

 

गिलानीसँग सार्र्क प्रभावकारी बनाएर क्षेत्रीय विकासमा हातेमालो गर्ने बताउँदै सार्कको नेतृत्व हस्तान्तरण गर्न आफू आतुर रहेको उनले बताए। कोलम्बियाका पूर्वराष्ट्रपति आन्द्रेस पास्त्राना अरंगोले पनि प्रधानमन्त्री ओलीसँग भेट गरे। पूर्वराष्ट्रपति अरंगोले नेपालको शान्ति प्रक्रियाको सफल प्रयासबाट आफ्नो देश पनि प्रभावित भएको सुनाए। ‘शान्ति प्रक्रियाका अधिकांश काम सकिएको र बाँकी काम पनि समयमा सम्पन्न हुनेछ’, प्रधानमन्त्री ओलीले बताए। प्रधानमन्त्री ओलीसँग पलाउका पूर्वराष्ट्रपति जोन्सन टोरिवियङले पनि भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

प्रधानमन्त्रीसँग भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडाले भेट गर्दै नेपाल–भारत मैत्रीपूर्ण सम्बन्ध आगामी दिन अझ प्रगाढ बनाउन उत्साहित रहेको बताए। नेपाल–भारत दुवैको ‘विन–विन’ हुने गरी जलस्रोतमा साझेदारी, महाकाली सन्धि र पञ्चेश्वर परियोजना कार्यान्वयन सम्बन्धमा समेत छलफल भएको उनका सल्लाहकारहरूले बताए।

 

सम्मेलनको हर्ताकर्ता मानिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि सम्मेलन भव्यतापूर्वक सफल भएको बताए। सबै विदेशीले खुसी व्यक्त गरे पनि सर्वसाधारणले सम्मेलनको विरोध गरिरहेका छन्। यसकै कारण आलोचना भइरहँदा सरकारले आफू सच्चिने काम नगरेकोमा सत्तारुढ दलकै नेतासमेत असन्तुष्ट छन्। प्रमुख प्रतिपक्षी दल कांग्रेस, राप्रपालगायतले सम्मेलनमा सहभागिता जनाएनन्। सत्तारुढ दलकै कतिपय नेताले पनि बहिस्कार गरे।

 

सम्मेलनमा प्रधानमन्त्री ओलीलाई १ लाख अमेरिकी डलरसहित सम्मान गरिएको छ। उनलाई सफल नेता र सुशासनका लागि सम्मान गरिएको बताइएको छ। उनले उक्त रकम युवाका लागि लगानी गर्ने बताए। उनले मुनबाट सम्मान लिँदै प्रसन्नता व्यक्त गरे। सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि सम्बोधन गरेका थिए।

 

कोरियाली धर्मगुरु हाक जा हान मुनले जिससकी एक्ली छोरीका रूपमा आफूलाई दाबी गरिन्। उनले आफूलाई ‘सच्चा माता’ समेत भन्दै आएकी छन्। मुनले सम्मेलनको उद्घाटन सत्रमा कोरियाली भाषामा सम्बोधन गरेकी थिइन्। सम्बोधनमा मात्र होइन उनले समापनमा पनि आफूलाई जिससकी एक्ली छोरी भनिन्। सम्मेलन आइतबार सकिएको अन्नपुर्णमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्