
काठमाडौं: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले रोजगारीको अवसर सृजना गर्ने कामलाई उच्च प्राथमिकता दिएको बताएका छन्।
मन्त्री विष्टले मुलुकलाई समृद्ध बनाउन काम गर्ने उमेर समूहका जनशक्तिलाई स्वदेशमै भरपुर उपयोग गर्न सरकार प्रतिबद्ध भएर लागि परेको दावी पनि गरे।
सोमबार काठमाडौंमा आयोजित ‘सूचना प्रविधिको क्षेत्रमा रोजगारीको अवसर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मुलुकमा बढ्दो व्यापार घाटालाई कम गर्न पनि नेपालले काम गर्ने उमेर समूहका जनशक्तिलाई स्वदेशमा रोजगारी अवसर सृजना गर्न ढिलाई गर्न नहुने पनि स्मरण गराए।
मन्त्री विष्टले नेपाली श्रम, सीपलाई स्वदेशमै उपयोग गरेर ‘सुःखी नेपालीः समृद्ध नेपाल’ बनाउने अभियानलाई साकार बनाउन सरकारले चाहिरहेको पनि स्पष्ट पारे।
मन्त्री विष्टले सुचना प्रविधिको क्षेत्रबाट पनि मुलुकमा प्रशष्त रोजगारीको अवसर सृजना गर्न सकिने निष्कर्ष पनि सुनाए।