संसद् अधिवेशन बोलाउन प्रतिपक्षको माग



काठमाडौं: संविधानले तोकेको समयमा संविधानसँग बाझिएका कानुन संशोधन एवं परिमार्जन गर्न ढिला भइसकेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चाँडै संघीय संसद्को हिउँदे अधिवेशन बोलाउन माग गरेको छ ।

 

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले कानुन निर्माणलगायत मुलुकका जल्दाबल्दा र जनसरोकारसँग सम्बन्धित विषयमा छलफल र बहस आवश्यक रहेकाले यथाशक्य छिटो संसद्को अधिवेशन बोलाउन आवश्यक रहेको बताए ।

 

‘संसद्को अधिवेशन बोलाउने सन्दर्भमा सरकारले प्रमुख प्रतिपक्षसँग हालसम्म कुनै परामर्श गरेको छैन, संसद्को बैठक नचलेको लामो अवधि भइसक्यो, पुराना ३३९ कानुन संविधानसम्मत तुल्याउनुपर्ने, प्रदेश र स्थानीय तहसँग प्रत्यक्ष सरोकार राख्ने अरू थुप्रै कानुन बनाउनुपर्नेछ, त्यसैले जतिसक्यो चाँडो  बैठक बोलाउनुपर्छ ।’

 

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले अहिले संसद् बैठक कक्षका सिट र त्यहाँ जडान भएका माइकलगायत उपकरणको मर्मत र सुधारको काम सकिनासाथ सरसल्लाह गरेर अविधेशन आह्वान हुने बताए ।

 

‘अब जतिसक्यो छिटो संसद्को अधिवेशन बोलाउनुको विकल्प नरहे पनि विभिन्न कारणले पुसको दोस्रो सातासम्ममा अधिवेशन बोलाइनेछ,’ उनले भने । संसद् सचिवालयले संसद् बैठक कक्ष आवश्यक मर्मत सुधार र सरकारले आगामी अधिवेशनमा पेस गर्नुपर्ने विधेयकको तयारीलाई तीव्रता दिने काम भइरहेको बताएको छ ।

 

‘अधिवेशन बोलाउने काम सरकारको हो, तयारी गरिरहेको छ,’ नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले भने, ‘संसद् भवनभित्र मर्मत र सुधारका काम चलिरहेका छन्, संसद् छिटो सञ्चालन गर्नुपर्छ भन्नेमा सरकार सकारात्मक नै छ ।’ राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले प्रमुख प्रतिपक्ष दलको महासमितिको बैठक सकिनासाथ दलबीचको सल्लाहमा संसद्को अधिवेशन हुने बताएका राजधानीमा खवर छ ।

 

संघीय संसद्को पहिलो अधिवेशन प्रारम्भ भएको एक वर्षभित्र नेपालको संविधानसँग बाझिने कानुन स्वतः निष्क्रिय हुने संवैधानिक व्यवस्थानुसार उक्त मितिअघि नै झन्डै ३३९ कानुन संशोधन तथा प्रदेश र स्थानीय तहसम्बन्धी थुपै्र कानुन आगामी अधिवेशनबाट निर्माण गर्नुपर्नेछ ।

 

‘संविधानअनुसार फागुनभित्र धेरै पुराना कानुन संशोधन तथा संघ, प्रदेश र स्थानीय तहको साझा सूचीमा रहेको नयाँ कानुन निर्माण गर्नुपर्ने भएकाले त्यस पक्षलाई विचार पु¥याउँदै अधिवेशन बोलाउनुपर्छ,’ संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले भने, ‘सचिवालय अधिवेशन सञ्चालनका लागि सम्पूर्ण तयारी गरेर बसेको छ ।’

प्रतिक्रिया दिनुहोस्