तीन अर्बको मुद्दामा चाेलेन्द्रशमशेरको चासो, न्यायाधीश मिलाएर जग्गा हत्याउने भूमाफियाको दाउ



काठमाडौं : प्रधानन्यायाधीशको लाइनमा रहेका चोलेन्द्रशमशेर राणाले काठमाडौं धापासीस्थित हेपाली हाइटको ५२ रोपनी जग्गा भूमाफियाको पक्षमा फैसला गराउन खोजेको आरोप लगाइएको छ ।

 

तीन अर्ब मूल्यबराबरको सशस्त्र प्रहरीको सो जग्गासम्बन्धी मुद्दा आफ्नो पक्षमा फैसला गराउन मनोज भेटवाल, दीपक भेटवाल, महेन्द्र श्रेष्ठ र बाबुराम श्रेष्ठले न्यायाधीश राणामार्फत सेटिङ गरिरहेको त्यससम्बन्धी एक उजुरीपत्रमा जनाइएको छ । 

 

संवैधानिक परिषद् र संसदीय सुनुवाइ समितिका नाममा दिइएको एक उजुरीमा उक्त मुद्दाको पेसी गत सोमबारका लागि तय भए पनि न्यायाधीश राणाकै डिजाइनमा स्थगित गरिएको दाबी गरिएको छ । मुद्दामा न्यायाधीशद्वय ईश्वर खतिबडा र डा.आनन्दमोहन भट्टराईको इजलास तोकिए पनि सोमबार बिहान कजलिस्ट निस्किँदा भूमाफियाकै चासोका कारण स्थगित गरिएको उजुरीमा उल्लेख छ । 

 

राणा प्रधानन्यायाधीश भएपछि उक्त जग्गा आफ्नो पक्षमा पार्ने गरी भेटवाल र श्रेष्ठहरू लागेको पनि उजुरीमा लेखिएको छ ।  भूमि व्यवस्थापन विभाग, मालपोत कार्यालय चाबहिल, नापी कार्यालय चाबहिल र सशस्त्र प्रहरी बललाई विपक्षी बनाएर गोपीलाल महर्जन, सन्तु महर्जन, शुक्ललक्ष्मी महर्जन र ज्ञानबहादुर महर्जनले निर्णय बदरका लागि २०७४ असार १९ मा मुद्दा दर्ता गरेका थिए । 

 

सशस्त्र प्रहरीको जग्गामा मुद्दा हाल्ने महर्जनहरू देखावटी पात्र हुन् । मुद्दामा न्यायाधीश राणासँग सेटिङ मिलाउने काममा पुरानो बसपार्कमा भ्यु टावर निर्माणको जिम्मा लिएका मनोज भेटवाल र दीपक भेटवालसँगै महेन्द्र श्रेष्ठ र बाबुराम श्रेष्ठ नाम गरेका तिनै बिचोलिया लागेका छन् । मनोज एपेक्स बैंक घोटालामा समेत मुछिएका छन् । 

 

उनीविरुद्ध नेपाल प्रहरीको सीआईबीले बैकिङ कसुरमा मुद्दा चलाएको छ । उनलाई पक्राउ गरी थुनामा नै राखिएको छ । भेटवालले सशस्त्र प्रहरीको सो जग्गा हत्याउन न्यायाधीश राणालाई तीन करोड रुपैयाँ बुझाइसकेको उजुरीमा जनाइएको छ । 

 

आनाको ४० लाख पर्ने उक्त जग्गाको मूल्य प्रतिआना ३५ लाख कायम गरिए पनि दुई अर्ब ९१ करोड पर्न आउँछ ।  यो मुद्दामा २०७४ असोज ३, २०७४ मंसिर ११, २०७४ पुस २०, माघ ११ र चैत ८ पछि एकैचोटि नौ महिनापछि २०७५ मंसिर १८ मा पेसी तोकिएको थियो । 

प्रतिक्रिया दिनुहोस्