राष्ट्रिय फुटबलका फरवार्ड विमल च्यासल क्लबमा अनुबन्धित



काठमाडौं :  राष्ट्रिय फुटबल टिमका युवा फरवार्ड विमल घर्तीमगर च्यासल युथ क्लबमा आबद्ध भएका छन्। भोलिदेखि सुरु हुने सहिद स्मारक ए डिभिजन लिगका लागि विमल र च्यासल युथ क्लबबीच बिहीबार सम्झौता भएको हो। 

 

च्यासलले विमलसँग सम्झौता भएको पुष्टि गरे पनि कति रकममा सम्झौता भएकोबारे खुलाउन चाहेको छैन। विमलले सिजनको सुरुवातमा राष्ट्रिय लिग च्याम्पियन थ्री स्टार क्लबबाट खेलेका थिए। तर थ्री स्टारले लिगका लागि २५ जना खेलाडीसँग सम्झौता गर्दा विमलसँग सम्झौता गरेको थिएन। थ्री स्टारसँग सम्झौता हुन नसकेपछि विमल च्यासलको सम्पर्कमा पुगेका हुन् । 

 

दुई वर्षअघि बी डिभिजन लिगबाट च्यासल ए डिभिजनमा उक्लिएको थियो। च्यासलले ए डिभिजनका लागि अहिले पनि खेलाडीसँग सम्झौता गर्ने क्रम जारी राखेको छ। च्यासलले विमल आबद्ध भएपछि राष्ट्रिय टिमका खेलाडीहरु हेमन्त थापामगर, देवेन्द्र तामाङ र गोलकिपर दिनेश थापासँग पनि कुरा अघि बढाएको छ।

 

लिगमा १४ टिमबीच प्रतिस्पर्धा हुँदै छ। उद्‌घाटन खेलमा शनिबार न्युरोड टिम (एनआरटी)  र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ। दोस्रो दिन सरस्वती युवा क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल अपरान्ह ३ बजे हुनेछन् । यी दुई खेलपछिको खेल तालिका अहिलेसम्म सार्वजनिक गरिएको छैन।

 

यसपटकको लिगमा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपीएफ), त्रिभुवन आर्मी, मनाङ मर्स्याङ्दी, थ्री स्टार, जावलाखेल युथ, फ्रेन्ड्स, सङ्कटा, मछिन्द्र, सरस्वती युथ, च्यासल युथ, न्युरोड टिम (एनआरटी) ,ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्