तंग्रिँदै गरेका निर्मलाका बुबा भन्छन्- ‘न्याय नपाएर रिसाउँदैमा कोही पागल भइहाल्ने हो र ?’



काठमाडौं : गत साउनमा बलात्कारपछि हत्या गरिएकी कञ्चरपुरकी १३ वर्षीया निर्मला पन्तका बुवा यज्ञराज पन्तको स्वास्थ्य अवस्थामा क्रमशस् सुधार हुँदै गएको छ । उनी महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । 

मंसिर ८ गते अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका उनी आईसीसीयू वार्ड हुँदै पुरुष उपचार कक्षमा सरेका छन् । चार दिनदेखि उनी सर्जिकल वार्डमा उपचाररत छन् ।

खुट्टामा लागेको घाउ निको हुँदै छ । कुर्न बसेकी श्रीमती दुर्गादेवी पन्त भने घर फर्किसकेकी छन् । परिवार स्रोतमा अनुसार उनलाई हाल उठ्न तथा हिँडडुल गर्न सहयोग चाहिँदैन ।

कुरुवा बसिरहेकी उनकी दिदी प्रेमवती राणा भन्छिन्, ‘शौचालय लैजान दुई जना चाहिन्थ्यो, अहिले एक्लै जान्छन् ।’ उनका अनुसार उपचारमा संलग्न नर्स देख्नासाथ यज्ञराज छोरी निर्मला नै सम्झिन्छन्, रुन्छन्, कराउँछन् । उनी भन्छिन्, ‘उहाँ निर्मलालाई सम्झिरहनुहुन्छ, राति पनि घरी निदाउनुहुन्छ, घरी बर्बराउनुहुन्छ ।’

मानसिक रोगको लक्षणका आधारमा थप उपचारका लागि राजधानी ल्याए पनि उनी मानसिक वार्डमा छैनन् । खुट्टामा चोटपटक लागेको छ । रिपोर्टका अनुसार एउटा औंला पनि भाँचिएको छ । खोच्याउँदै हिँड्छन् ।

मंसिर ८ गतेको घटना सम्झिँदै उनी भन्छन्, ‘बजारबाट दाह्री काटेर म न्यायका लागि धर्ना बस्न जाँदै थिएँ, अचानक खुट्टामा कसैले बेस्सरी हानेजस्तो लाग्यो, एकै छिनमा खुट्टा सुन्नियो ।’ याद भएसम्म होस आउँदा उनले आफूलाई इमेर्जेन्सी वार्ड लेखेको ठाउँमा पाएका थिए । 

कुनै अस्पतालमा भर्ना हुँदै छु भन्ने उनलाई लाग्यो । मानसिकरोगी भन्दै बाहिर चलेको हल्लाका कारण उनी दुःखी छन् । दुःखी हुँदै उनी भन्छन्, ‘छोरी बलात्कार हुँदा कुनचाहिँ बाउ छट्पटिँदैन, न्याय नपाएर रिसाउँदैमा कोही पागल भइहाल्ने हो र ?’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्