राम जानकी विवाह पञ्चमी महोत्सव सुरु



जनकपुरधाम : प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा साताव्यापी राम जानकी विवाह पञ्चमी महोत्सव सुरु भएको छ।  शुक्रबारदेखि विधिवत रूपमा सुरु भएको विवाह पञ्चमीको पहिलो दिन नगर दर्शन गराइएको छ । 

सो नगर दर्शनमा राम–लक्ष्मणको प्रतीकको रूपमा एक जोडा बालकलाई जनकपुरधाममा घुमाइने परम्परा । त्रेता युगमा राम र लक्ष्मण मिथिला आएर नगर दर्शन गरेको तथा मिथिलावासीले राम लक्ष्मणलाई फूलले स्वागत गरेको मान्यता छ ।

सोहिअनुसार नगरवासीले स्वागत गर्ने परम्परा अनुसार राम–लक्ष्मणको प्रतीकस्वरुप दुई बालकलाई नगर दर्शन गराइएको हो । 

सो क्रममा राम लक्ष्मणको दर्शन गर्न दर्शनार्थीको भीड लागेको थियो । त्रेतायुगमा श्रीराम र सीताबिच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिदेखि मिथिला नगरी जनकपुरधाममा पौराणिक विवाह पञ्चमी महोत्सवको आयोजना हुने गरेको छ । 

महोत्सवअन्तर्गत नगर दर्शनसहित फुलबारी लीला, धनुष यज्ञ, तिलकोत्सव, मटकोर, शुभ विवाह र राम कलेवा हुनेछ । राम जानकी महोत्सवका हेर्नका लागि जनकपुरधाममा देशका विभिन्न भागसहित भारतबाट समेत पर्यटक जनकपुर आइपुगेका छन् । 

प्रतिक्रिया दिनुहोस्