फुजेल घटनाका आरोपी छविलाल रिहा



गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याकाण्डमा जिल्ला अदालत, चितवनबाट सफाइ पाएका छविलाल पौडेल कारागारबाट रिहा भएका छन् । चितवनका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासले १३ प्रतिवादीमध्ये १२ जनालाई सफाइ दिने फैसला गरेसँगै पौडेल सोमबार बिहान डिल्लीबजार कारागारबाट छुटेका हुन् ।

फुजेलका अधिकारीको हत्या आरोप खेपेका अधिकारीलार्इ गत असार २५ गते सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि जेल चलान गरिएको थियो । त्यसको करिब २ महिनापछि पौडेलसहित १२ ले सफाइ पाएका हुन् । मुद्दा खेपेका १२ मध्ये छविलाल जेल परे पनि अन्य भने पक्राउ परेका थिएनन् ।

डिल्लीबजार कारागारले चितवन जिल्ला अदालतले सफाइ दिएसँगै पौडेल सोमबार बिहान रिहा भएको जानकारी दिएको छ ।

रिहापछि छविलालले भने ः

द्वन्द्वकालमा मारिएका गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा अदालतबाट सफाइ पाएका छविलाल पौडेलले पीडित परिवारले घटनाबारे नबुझेरै आफूविरुद्ध उजुरी हालेको प्रतिक्रिया दिएका छन् ।

डिल्लीबजार कारागारबाट सोमबार बिहान रिहाइपछि संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले लहडको भरमा उजुरी गर्नेलाई पछुतो हुने टिप्पणी गरे ।

‘उहाँहरुले तथ्य नबुझिकनै मविरुद्ध उजुरी दिनुभएको हो’, बुझ्नेले कुरा नबुझेपछि, मनमा पीर त पर्ने नै भयो बोलको गीत उच्चारण गर्दै  पौडेलले भने, ‘उहाँहरुलाई पछतो हुनेछ  ।’

कृष्णप्रसाद आफ्नो विद्यार्थी भएको उल्लेख गर्दै पौडेलले घटनापछि आफू निकै दुःखी भएको स्मरण गरे ।

उनले आफूलाई नराम्रो भए पनि आरोप लगाउनेहरुप्रति सदीक्षा व्यक्त गरे ।  ‘उहाँहरुलाई राम्रो होस्, हामीलाई जे–जे भए पनि’, उनले भने ।

अन्यायमा परेकाले न्याय पाउने विश्वास व्यक्त गर्दै सबैको साथ र सहयोगको अपेक्षासमेत उनले उक्त अवसरमा व्यक्त गरे ।

फरार एक आरोपीबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले केही जानकारी नभएको प्रतिक्रिया दिए ।

 

प्रतिक्रिया दिनुहोस्