तालिबानसँगको सम्झौताको अन्तिम तयारीको अवस्थामा काबुलमा विस्फोट



एजेन्सी : अफगानिस्तानमा सरकारसँग द्वन्द्व जारी राखेका तालिबान लडाकू समूह र वासिङ्टनबीच शान्ति सम्झौता अन्तिम चरणमा पुग्न लागेको अस्थावमा अफगानिस्तानको राजधानीमा पुनःभीषण विस्फोट भएको छ ।

काबुलको आवासिय क्षेत्रमा भएको यस विस्फोटमा परी कम्तीमा १६ सर्वसाधारण मारिएका छन् । यस विस्फोटमा परी अन्य ११७ व्यक्ति घाइते भएका प्रहरी स्रोतले जनाएको छ ।

सोमबार बम विस्फोट भएको यस समयमा अमेरिकी विशेष दूत जाल्मे खलीलजाद अफगानिस्तानको राजधानी काबुलमा प्रस्तावित सम्झौताको बारेमा छलफल गर्न आएका थिए ।

उहाँ अफगानिस्तानमा तालिबान लडाकू र अमेरिकाबीच शान्ति सम्झौता हुनलागेको यस अन्तिम समयमा यहाँ रहेका अमेरिकी सेना फर्काउने विषयमा सम्झौताको लागि आएका थिए ।

गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमीकाअनुसार विष्फोटक पदार्थले भरिएको एउटा ट्याक्टर ग्रीन भिलेज नामक अन्तरराष्ट्रिय संघ, संगठनलगायत विदेशी बस्ने आवासीय भवन पनि रहेको कमाण्डमा पर्खालमा सो विस्फोट गराइएको थियो ।

यस विस्फोटमा परी १६ सर्वसाधारणको मृत्यु हुनेको साथै अन्य ११९ जना घाइते भएका रहिमीले पुष्टि गरेका छन् ।

केही दिनयता तालिबान लडाकूले गरेको यो तेस्रो ठूलो आक्रमण हो । सप्ताहन्तमा अफगानिस्तानको उत्तर भागमा पर्ने दुई प्रमुख शहरमा भएका भीषण आक्रमणमा दर्जनौं सुरक्षाबल र नागरिकलाई मारिनुको साथै घाइते भएका छन् ।

अल कायदा विद्रोही समूहले सन् २००१ सेप्टेम्बर ११ मा न्युयोर्क शहरमा अवस्थित ट्वीन टावर आक्रमणपछि अमेरिकी सेनाले अफगानिस्तानमा आक्रमण गरेको थियो । उक्त समयमा एक लाख ३० हजारभन्दा बढी अमेरिकाको नेतृत्वमा नेटो सेना अफगानिस्तानमा प्रवेश गरेका थिए ।

सन् २०१४ को डिसेम्बरमा ‘अफगान युद्ध’ सकिएको घोषणा गर्दै प्रायःनेटो सेना अफगानिस्तानबाट आ–आफ्नो देश फर्किएका थिए । सोही समयबाट हालसम्म करिब १४ हजार अमेरिकी सेना अझै अफगानिस्तानमा रहेका अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले पुष्टि गरेको छ ।

यतिखेर भने अफगानिस्तानमा अमेरिकी सेनाको संख्या कटौतीको चर्चा शुरु भएको छ । गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आठ हजार ६०० सेना मात्र अफगानिस्तानमा रहने बताएका थिए ।

वासिङ्गटनले गत बिहीबार अफगानिस्तानमा रहेका अमेरिकी सेनाको सङ्ख्या आठ हजार छ सयमा झार्ने घोषणा गरेको थियो । तालिबान लडाकू समूहसँग अमेरिकाले गरिरहेको शान्ति वार्ता टुङ्गो लाग्न लागेको बेला उक्त घोषणा भएको बताइएको थियो ।

सन् २००१ सेप्टेम्बर ११ मा भएको न्युयोर्क र वासिङटनमा करिब तीन हजारको ज्यान जाने गरी भएको आक्रमणको एक महिनापछि तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुश प्रशासनले सन् २००१ को अक्टोबर ७ मा अफगानिस्तानमा अमेरिकी सेना पठाउने निर्णय गरेको थियो ।

अफगानिस्तानमा उक्त समयमा कट्टरपन्थी तालिबान शासकले ओसामा बिन लादेन र उनको नेतृत्वमा रहेको अल कायदा नामक आतंककारी संगठनलाई शरण दिइरहेको थियो । ट्वीन टावरमाथि आक्रमण सोही समूहले गरेको थियो ।

यसै कारण उक्त संगठनमाथि अमेरिकाको नेतृत्वमा कारबाही शुरु भएको थियो । अमेरिकी सेनाको नेतृत्वमा पछि केही नेटो सैन्यको पनि सहभागिताबाट अफगानिस्तानमा तालिबानमाथि कारबाही थालियो र यसलाई आतङ्कवाद बिरूद्धको युद्ध भनिएको थियो ।

सन् २०१४ को डिसेम्बरमा अमेरिकी नेतृत्वमा रहेका प्रायःसैनिक अफगानिस्तानमा फर्किसकेका थिए । अमेरिका र अफगानिस्तानबीच भएको सम्झौता अनुरुप १२ हजार ५०० विदेशी सैनिक अफगानिस्तानमा रहने सम्झौता भएको थियो । हाल यस संख्यालाई अझै कटाएर आठ हजार ६०० जना मात्र अमेरिकी सेना अफगानिस्तानमा राख्ने विषयमा अमेरिकाले प्रस्ताव गरेको छ ।

उता अफगान तालिबानसँग अमेरिकाले शान्तिवार्ता जारी राखेको बताइएको छ । शान्ति वार्ता जारी रहेका बेला यता अमेरिकाले भने अफगानिस्तानबाट सेना कटौतीको प्रस्ताव गरेको थियो । तालिबान लडाकू समूहले भने आक्रमणको क्रमलाई अन्त्य गरेको छैन् ।

प्रतिक्रिया दिनुहोस्